close

सेतीवेणीमा लाग्ने ठुली एकादशी मेलामा यस वर्ष लाग्याे राेक

सेतीवेणीमा लाग्ने ठुली एकादशी मेलामा यस वर्ष लाग्याे राेक

Trulli
ADVERTISEMENT

पर्वत - पर्वतको विहादी गाउँपालिकाले प्रत्येक वर्ष सेतीवेणीमा लाग्ने ठुली एकादशी मेला आयोजना गर्न रोक लगाएको छ । कोभिड- १९ को संक्रमण झनै बढ्ने र मेला महोसत्वमा हुने भीडभाडबाट समुदायस्तरमा पुग्ने जोखिम बढी हुने भएकाले गाउँपालिकाले मेला लगाउन रोक लगाएको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले शालिग्राम क्षेत्र संरक्षण समितिलाई पत्र लेख्दै नियमित पूजाआजाबाहेक मानिसहरूको भीडभाड हुने गरी मेला महोत्सव नगर्न निर्देशन दिएका हुन् । शालिग्राम शिलाबाहेक पालिकाभित्रका अन्य धार्मिक स्थलहरुमा पनि नियमित पूजाआजाबाहेक अन्य कुनै कार्यक्रम नगर्न उर्दी जारी गरिएको हो ।

 

पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलामा एकादशी, माघ संक्रान्ति, वैशाखे संक्रान्तिलगायत साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । यहाँ मेला भर्नका लागि पर्वत जिल्लासँगै छिमेकी जिल्ला स्याङ्जा, बाग्लुङ, गुल्मी, पाल्पा, बुटवल तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरू आउने गरेका छन् ।

 

तर पनि चाडपर्वमा कालीगण्डकी नुहाउन र शालिग्राम शिलाको दर्शन गर्न भने भीडभाड हुने गरेकाले स्थानीय सुरक्षा निकायहरूको समेत साझेदारीमा यस पटक मेला महोत्सव लगाउन रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।