close

पिसाबले च्याप्याे मेयरसा’ब ! शौचालय कहाँ छ ?

पिसाबले च्याप्याे मेयरसा’ब ! शौचालय कहाँ छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं- संघीय राजधानी काठमाडौंमै पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका शौचालय पनि व्यवस्थित छैनन् । बढी भीडभाड हुने रत्नपार्क, भोटाहिटी, भृकुटीमण्डप, गौशालालगायतका स्थानमा केही सार्वजनिक शौचालय छन् तर कतै ढोकाको चुकुल छैन त कतै पानी नै राखिएको हुँदैन ।


राजधानी काठमाडाैंमा शौचालय अभाव ठूलै समस्याको रूपमा देखापरेको छ । घरबाट निस्केपछि शौच लाग्यो भने कता जाने ? काठमाडौं उपत्यकामा दैनिक हजारौँ मानिस आउजाउ गर्ने अति व्यस्त ठाउँमा सार्वजनिक शौचालय छैनन् ।

 

सार्वजनिक शौचालय नहुँदा बटुवाहरू सकसमा पर्छन् । यस्ता ठाउँमा दिसा-पिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान बाध्य भई शौचालय प्रयोग गर्छन् । करोडौँका योजना अगाडि बढाउन सक्ने काठमाडौ‌ं महानगरले जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा पनि व्यवस्थित सार्वजनिक शौचालय पाउन सकेको छैन ।

 
महानगरको योजना दुई वर्षदेखि अलपत्र

 

गत वर्ष १३ असोजमा सरकारले ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्‍यो । संघीय राजधानी काठमाडौंमै सीमित ठाउँबाहेक सार्वजनिक शौचालय छैनन् । काठमाडौं महानगरले दुई वर्षअघि बनाएको स्मार्ट शौचालयको योजना अलपत्र छ ।


सार्वजनिक स्थानमा जग्गा अभाव, स्थानीयको अवरोधलगायत अनेक समस्याका कारण शौचालय निर्माण गर्न नसकिएको महानगरका अधिकारीको भनाइ छ ।


महानगर र एनआरएनको सहकार्यमा अहिले काठमाडौंका चार स्थानमा सार्वजनिक शौचालय निर्माण प्रक्रिया अघि बढाएको महानगरको सहरी योजना आयोगले जनाएको छ ।


प्रत्येक वडामा कम्तीमा दुई स्मार्ट शौचालय बनाउने लक्ष्य छ । हाल काठमाडौं उपत्यकाभित्र ६५ सार्वजनिक शौचालय छन् । यीमध्ये काठमाडौं महानगरभित्र ३८ वटा छन् ।

 
स्थान पहिचान भयो तर बनेन शौचालय


काठमाडौं महानगरले सार्वजनिक शौचालय निर्माण गर्न अभियानै अगाडि बढायो । स्थान पहिचानका लागि वातावरण विभाग र उपप्रमुखको संयोजकत्वमा समितिसमेत गठन भयो ।


सो समितिले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि स्थान पहिचान गरेको थियो । बबरमहलमा नेपाल कला परिषद्को अगाडि, थापाथली बसस्टप, बानेश्वर मन्दिर अगाडि, कोटेश्वर चोकको पूर्वतर्फ, टेकुको नेसनल ट्रेडिङ अगाडि, कलंकी मेट्रो हल आसपास, बालाजु, बाइसधारा, सीतापाइला बसस्टप, माछापोखरीलगायत स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो ।


यससँगै गौशाला, तिनकुने, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा पनि पहिलो चरणमा काम गर्नुपर्ने स्थानका रूपमा सिफारिस गरिए पनि हालसम्म निर्माण भने हुन सकेको छैन ।


हाल महानगरमा ५८ सार्वजनिक शौचालय संचालनमा छन् । ती सार्वजनिक शौचालयमध्ये २८ प्रयोग गर्न मिल्ने अवस्थामा छन् । बाँकी ३० मर्मतविना प्रयोग गर्न नमिल्ने महानगरले नै स्वीकारेको छ ।


महानगरले दुई वर्षअघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।


वडामार्फत बनाउँदै छौँ: श्रेष्ठ


शौचालय वडामार्फत बनाउन लागिएको काठमाडाैं महानगरका वातावरण विभागीय प्रमुख हरिकुमार श्रेष्ठले बताउँछन् । महानगरका ३२ वटै वडामार्फत शौचालय बनाउने योजनामा छ ।