close

माविमा कम्प्युटर स्रोतव्यक्ति नियुक्तिको तयारी तर पाउनै गाह्रो

माविमा कम्प्युटर स्रोतव्यक्ति नियुक्तिको तयारी तर पाउनै गाह्रो

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको साकेला गाउँपालिकाले पाँचवटा माध्यमिक विद्यालयमा कम्प्युटर स्रोतव्यक्ति नियुक्तिको तयारी गरेको छ । विद्यालयको कम्प्युटर एवं सूचना प्रविधिसम्बन्धी काम गर्नका लागि गाउँपालिकाले पाँचवटा वडामा रहेका माविमा आधारभूत तहका पाँच जना सूचना प्राविधिक (कम्प्युटर स्रोतव्यक्ति) नियुक्तिको तयारी गरेको हो । 


विद्यालयका सूचना तथा प्रविधिसँग सम्बन्धित काम गर्न, कम्प्युटर व्यवस्थापन एवं संचालनसम्बन्धी काम गर्न, कम्प्युटरसम्बन्धी तालिम संचालन गर्ने, कम्प्युटर कक्षा संचालन गर्नेलगायतका प्रयोजनका लागि कम्प्युटर स्रोतव्यक्ति नियुक्तिको तयारी गरिएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जानकारी दिए । 


कम्प्युटर स्रोतव्यक्ति नियुक्तिका लागि तिहार अगाडि संचालन गरिएको परीक्षामा कुनै पनि परिक्षार्थी उत्तीर्ण नभएपछि गाउँपालिकाले सोमबार दोस्रो पटक १५ दिने सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सबै माविमा निमावि स्तरको कम्प्युटर स्रोतव्यक्ति नियुक्ति गर्न लागिएको हो । 


करारमा विद्यालयमा नियुक्त हुने कम्प्युटर स्रोतव्यक्तिलाई सम्बन्धित वडा कार्यालयको कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित काममा समेत खटाइने गाउँपालिकाले जनाएको छ । 


आवेदकमध्येबाट लिखित, मौखिक र प्रयोगात्मक परीक्षाका आधारमा कम्प्युटर स्रोतव्यक्ति छनोट गरिनेछ । कम्प्युटर विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण वा सीटीईभीटीबाट कम्प्युटर विज्ञान विषयमा टीएसएलसी वा सो बराबरको १८ महिने कोर्स पूरा गरी अन्य विषयमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेका उम्मेदवारमध्येबाट कम्प्युटर स्रोतव्यक्ति नियुक्त गरिने प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । 


निमावि तहको सेवा सुविधा पाउनेगरी नियुक्ति पाउने कम्प्युटर स्रोतव्यक्तिको करार अवधि आवश्यकताका आधारमा थप गर्दै लगिने जनाइएको छ । कम्प्युटर स्रोतव्यक्तिका लागि प्रथम पटक प्रकाशित सूचनाका आधारमा परीक्षामा सामेल भएका चार जना आवेदकले लिखितमा उत्तीर्ण गरे पनि प्रयोगात्मक परीक्षा उत्तीर्ण गर्न नसक्दा दोस्रो पटक आवेदन आह्वान गर्नुपरेको हो । 


‘विद्यालयको कम्प्युटर र सूचना प्रविधिसम्बन्धी सम्पूर्ण काम गर्नका लागि कम्प्युटर स्रोतव्यक्ति नियुक्त गर्न लागिएको हो । कम्प्युटर स्रोतव्यक्तिले विद्यालयमा कम्प्युटर कक्षा पनि संचालन गर्नेछन्’, प्रमुख प्रशासकीय अधिकृत मगरले भने, ‘विद्यालयमा कार्यक्षेत्र भए पनि सूचना प्राविधिकले वडाको कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी कामसमेत गर्नुपर्नेछ ।’