close

कोरोना राहतको सट्टा रोजगारी, बाँझो जमिन ६ महिनामै भए हरियाली

कोरोना राहतको सट्टा रोजगारी, बाँझो जमिन ६ महिनामै भए हरियाली

Trulli
ADVERTISEMENT

गोरखा– कोरोना भाइरस संक्रमणले देश थलिएको छ । आर्थिक गतिविधि ठप्प छ । विपन्नलाई बाँच्न कठिन भइहेको छ । कतिपय गाउँपालिकाहरुले राहत वितरणमा लाखौं खर्च गरेका छन् । कतिपय स्थानीय तहले भने रचनात्मक काम गरेर अर्थतन्त्र चलायमान बनाइरहेका छन् ।


गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोनापछि बाँझो जमिनमा खेती गर्ने र राहतको सट्टा रोजगारी दिएर गाउँपालिकाको आर्थिक गतिविधि चलायमान बनाएको छ ।


पहिलो चौमासिकमा ६ सय रोपनी बाँझो जमिनमा खेती गरिएको छ । गाउँपालिकाले राहत दिनुपर्ने विपन्न परिवारलाई राहतको सट्टा रोजगारी दिएको छ ।


कोरोनाका कारण बेरोजगार बनेका युवा र विपन्न तथा असहायलाई विकास निर्माणका काममा जोड्ने र बाँझो जमिन खेती गर्न प्रोत्साहन गरिएको हो ।


चालू वर्षमा पालिकाले २ सय रोपनी बाँझो जमिन खेती गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा ४ सय रोपनी बढी जमिनमा खेती भएको हो । खासगरी धान र कोदोको खेती बढी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए ।


उनका अनुसार २ वर्षभन्दा बढी बाँझो रहेको जमिनमा खेती गर्नेलाई अनुदान कार्यविधि समेत बनाइएको थियो । प्राविधिकले खेती गर्नुअघि र पछि अनुगमन गरेर अनुदान उपलब्ध गराइएको हो ।


‘खाद्यान्न उब्जाउनेलाई प्रतिरोपनी २ हजार ५ सय दियौं । फलफूलमा प्रतिरोपनी २ हजार २ सय र मसला बालीको उत्पादन गर्नेलाई प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिएका छौं,’ उनले भने, ‘बाँझो जमिनमा खेती गर्नेलाई अहिलेसम्म १८ लाख भुक्तानी गइसक्यो । धेरै बाँझा जमिन अहिले हराभरा भएका छन् ।’


कोरोनापछि जनशक्तिको अभाव नभएकोले खेती बढेको अध्यक्ष विष्णु भट्टले जानकारी दिए । ‘लकडाउनले सहरमा बस्न नसकेकाहरु धमाधम गाउँ आए । कमाई नभएपछि भोकै बस्नुपर्ने अवस्था आयो,’ उनी भन्छन्, ‘खाने मुख थपिएपछि चारो पनि बढाउनैप¥यो ।’


खेतीसँगै पालिकासँगको समन्वयमा काम गरेर धेरैले आर्थिक उपार्जन समेत गरेका छन् । दशैंको मुखमा बाटो सफा गर्ने, सडक मर्मत, बाटो बनाउने तथा सिंचाई कुलो निर्माण गरेर झण्डै १ हजार भन्दा बढीले कमाए ।


कार्यविधि बनाएर पालिकाले यसरी काम गर्नेलाई २७ लाख ५० हजार भुक्तानी दिइसकेको भट्टको भनाई छ । ‘धेरैजसो मर्मत सम्भारका काम भए । केही नयाँ पूर्वाधार थपिए,’ उनले भने । प्रतिदिन काम गर्दा कामदारले ६ सय ५० रुपैयाँ पाउँछन् ।


पालिकाले पहिलो चौमासिकका कार्यक्रमबारे समीक्षा समेत गरेको छ । १६ वटै विषयगत कार्यालयले सञ्चालन गरेका कार्यक्रम र बजेट खर्चबारे समीक्षा गरिएको हो । ६० करोड बजेट भएको बारपाक सुलिकोटमा ४ महिनाभित्र १८ प्रतिशत खर्च भएको छ ।


१३ प्रतिशत पुँजीगत र २१ प्रतिशत चालु खर्च भएको हो । १२ वटा ठूला आयोजनाको टेण्डर प्रक्रिया सकिएर ठेक्काको चरणमा पुगेको छ ।