close

तलव नपाएपछि स्थानीय तहमा कर्मचारीको धर्ना

तलव नपाएपछि स्थानीय तहमा कर्मचारीको धर्ना

Trulli
ADVERTISEMENT

धनुषा– तलब भत्ताको माग गर्दै धनौजी गाउँपालिका र मुखियापट्टी गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

 

धनौजीमा तलव नपाएको गुनासोसहित कर्मचारीले आन्दोलन गरिरहेका बेला गाउँपालिकाका कर्मचारी पनि ‘तलव चाहियो’ भन्दै धर्नामा बसेका छन् ।

 

गाउँपालिकाले जेठ महिनादेखि हालसम्मको तलब भुक्तानी नगरेको भन्दै विभिन्न ६ बुँदे माग राख्दै स्वास्थ्यकर्मीहरू धर्नामा बसेका हुन् । विभिन्न स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई गाउँपालिकाले कोभिड–१९ को भत्तासमेत उपलब्ध नगराएको उनीहरूको भनाइ छ ।


स्वास्थ्यकर्मीहरू कोभिड–१९ र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्पूर्ण भत्ता उपलव्ध गराउन, जेष्ठ महिनादेखि बाँकी तलव भुक्तानी गर्न, नियमित औषधि आपूर्ति गर्न, स्वास्थ्यकर्मीहरूको फिल्ड भत्ता र गत आर्थिक वर्षसम्मको सम्पूर्ण कार्यक्रमहरूको भत्ता भुक्तानीको माग राख्दै  सोमवार देखि गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएर बसेका छन् ।


आठ महिनादेखि गाउँपालिकाले तलवका साथै काम गरेवापतको भत्ता भुक्तानी नगरेपछि बाध्य भएर स्वास्थ्यकर्मीहरू धर्नामा बस्नुपरेको स्वास्थ्य संयोजक रामपुकार दासले बताए । प्रमुख प्रशासकीय अधिकृतलाई ताकेता गर्दा अख्तियारी नपाएकोले तलव भुक्तानी गर्न असमर्थ रहेको जवाफ दिएको दासको भनाइ छ । यता प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरले गाउँसभा हुन नसकेपछि बजेट पारित हुन नसक्दा तलवको अख्तियारी रोकिएको बताए ।


‘गाउँसभा हुन सकेको छैन, गाउँसभाबाट बजेट नै पारित नभएपछि कर्मचारीले पाउनुपर्ने वैशाखदेखिको तलब रोकिएको छ,’ ठाकुरले भने, ‘गाउँसभा सम्पन्न नभएपछि बजेट रोकिएको छ।’


धनुषाको धनौजी गाउँपालिकामा कर्मचारी आन्दोलित भएपछि पालिकाको कामकाज नराम्ररी प्रभावित भएको छ ।


पालिका भित्रका स्वास्थ्य, शिक्षा, निजामती लगायतका झन्डै १०० भन्दा बढी कर्मचारीहरु ७ मंसिरबाट आन्दोलनमा छन् । गत असारदेखि  स्वास्थ्यमा कार्यरत ४७ जना कर्मचारीले तलव भत्ता पाएका छैनन् । कोरोना संक्रमण बढेको बेला समेत आफूहरुले काम र मेहनत गरेको पैसा न पाएको गुनासो स्वास्थ्यमा कार्यरत कर्मचारीहरुको छ ।