close

हिम्मतवाली डोजर चालक

कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कारमै बित्छ दैनिकी

हिम्मतवाली डोजर चालक

कोरोनाबाट मृत्यु भएकाको दाहसंस्कारमै बित्छ दैनिकी

Trulli
ADVERTISEMENT

सुनसरी-   इटहरीका एक व्यक्तिको कोरोना संक्रमणका कारण निधन भयो । सरकारको निर्देशनबमोजिम शवलाई जंगलमा गाड्ने निर्णय भयो । कसैले पनि शव छुने आँट गरेनन् ।


इटहरी उपमहानगरको डोजर जंगलमा शव पुर्न तयारी अवस्थामा  थियो । रातीको समय एक महिला डोजर चलाइरहेकी हुन्छिन् । शव गाड्ने स्थलमा उपमहानगरका केही कर्मचारी र नेपाली सेनाको टोली सुरक्षा सामग्री बन्दोबस्तीसहित बसेको हुन्छ । रातीको साढे १० बजे मात्र शवको दाहसंस्कार सकियो । डोजर चालक दीपा वाग्लेसहित सबै आ–आफ्नो बाटो लागे ।

 

सुरक्षाकर्मी र स्थानीय त्यसयता  आफ्नै काममा हाेलान्, तर  दीपाको दैनिकी भने फेरिएकाे छैन ।

 

दीपाको यो दैनिकी दुई महिनादेखि जारी छ । प्रायः रातको ८ बजे मात्र उनी घर पुग्छिन् । इटहरी उपमहानगरकै डोजर सिकेकी उनी अहिले कोरोना संक्रमितका शवको दाहसंस्कारमा खटिएकी छिन् ।


दुई सन्तानकी आमा उनी जिम्मेवारीबाट डगमगाएकी छैनन् । छोरीले घरमा काम सघाउने भएपछि राती अबेरसम्मै काममै लागिरहन्छिन् । त्यसैले लेबरबाट अपरेटर बन्ने सपना साँचेकी छन्, उनले ।


इटहरी–२ आँपगाछीकी वाग्लेले सामान्य लेखपढ गर्न मात्रा जानेकी छन् । पढाइलेखाइले भन्दा पनि सीपले जीवन परिवर्तन हुन्छ भन्ने विश्वास उनको छ ।


भारतको गुहाटीबाट १३ वर्षको वयमै फुपूको घर सर्लाही आइन् । फुपूको आर्थिक अवस्था कमजोर भएकाले पढाउन सक्ने अवस्था थिएन । पुनः गुहाटी पु¥याइदिने मान्छे पनि भएन ।


त्यसपछि यतै बिहेबारी गर्ने निधो भयो, जतिबेला वाग्लेले १४ वर्ष मात्र टेकेकी थिइन् । २०६२ माघमा विवाह भयो । त्यसको एक वर्षमै छोरी जम्माइन् । छोरी जन्मिएको केही महिनामै श्रीमान् प्रहरीमा भर्ती भए ।


त्यसबेला प्रहरीको तलब कम थियो । परिवार पाल्न पनि धौधौ पर्ने अवस्था आयो । छोरी एक वर्ष नहुँदै छिमेकीको घरमा लेबर काम गर्न थालेको वाग्ले सुनाउँछिन् ।


लामो समय सोही कामलाई निरन्तरता दिइन् । श्रीमान्को विराटनगर सरुवा भएपछि उनी पनि सँगै गइन् । नेपाल प्रहरीमा भर्नाका लागि आवेदन दिए पनि पास भने हुन नसकेको उनले बताइन् ।


प्रहरीमा भर्ना नभएपछि पुनः इटहरी आइन् । २०७२ मा जग्गा धितो राखेर अढाइ लाखमा सफारी खरिद गरिन् । सफारी आफैं किनेर सिक्दै, चलाउँदै गर्न थालिन् । त्यतिबेला नाकाबन्दी हुँदा गाडी चल्ने अवस्था थिएन ।


‘एक वर्ष सफारी चलाएपछि आँखा दुख्ने समस्या देखियो । त्यसपछि सफारी बेचेर भ्यान सिक्ने निधो गरें । २५ हजार तिरेर भ्यान सिकें । लाइसेन्स निकाल्ने बेला कोरोनाले लकडाउन सुरु भएपछि ट्रायल दिन नपाएर अहिलेसम्म लाइसेन्स निकाल्न पाएकी छैनन्’, वाग्लेले भनिन् ।

 
सानो गाडी सिकेर मात्र उनलाई सन्तुष्टी भएन । डोजर सिक्नलाई धेरैतिर कोसिस गरिन् । त्यही बीचमा इटहरीकी महिला अधिकारकर्मी सुभद्रा प्याकुरेलसँग भेट भएपछि आफ्नो समस्या सुनाएको उनी बताउँछिन् ।


प्याकुरेलले इटहरी उपमहानगरकी उपप्रमुखसँग कुरा गरिदिइन् । उपप्रमुख लक्ष्मी गौतमले डोजर सिक्ने वातावरण मिलाइदिएपछि अहिले  ‘डोजर ड्राइभर’ बनेको वाग्ले सुनाउँछिन् । हाल वाग्लेले इटहरी उपमहानगरको डोजर चलाउँदै आएकी छन् ।


अहिलेसम्म २५ भन्दा धेरै कोरोना संक्रमित शव पुर्ने काममा नेतृत्व लिएको उनको दाबी छ । ‘काम सानो–ठूलो हुन्छ भन्ने होइन । म जस्तोसुकै काम पनि गर्न तयार हुन्छु । सीप सिकेपछि एक न एक दिन काम लाग्छ,’ वाग्ले खुसी सुनिन्छिन् ।

 

डोजर चालकभन्दा पनि अपरेटर बन्ने उद्देश्य राखेको उनको भनाइ छ । यसअघि युट्युबमा काडमाडाैंकी मुना घिमिरे महिला अपरेटर भएको भनिएकाले आफू दोस्रो अपरेटरमा दर्जिएको उनको दाबी छ ।  


उपमहानगरका साइटमा काम गरेर बेलुकी घर फर्किंदा भने उनलाई सधै सुरक्षाकै चिन्ता लाग्छ ।