close

२ वर्षसम्म ज्याला नपाएपछि मजदुरले लगाए पालिकामा ताला

२ वर्षसम्म ज्याला नपाएपछि मजदुरले लगाए पालिकामा ताला

Trulli
ADVERTISEMENT

डडेल्धुरा - डडेल्धुराको परशुराम धाममा धार्मिक महोत्सव लागेको दुई वर्ष बितिसक्दासमेत कामदारले ज्याला नपाएको भन्दै परशुराम  नगरपालिकाकाे वडा कार्यालयमा तालाबन्दी गरेका छन् । परशुराम धाममा १ माघ २०७५ मा लागेको महोत्सवमा काम गरेको ज्याला कामदारले नपाएको भन्दै नगरपालिकाको परिगाउँस्थित वडा नम्बर- ५ कार्यालयमा तालाबन्दी गरेका हुन् । 


पटकपटक नगरपालिकामा आफूले पाउनुपर्ने रकम उपलब्ध गराइदिन अनुरोध गर्दासमेत बेवास्ता गरेपछि पारिश्रमिक नपाएका १०० जनाले तालाबन्दी गर्न बाध्य बनेकोे कामदार खेम पालीले जानकारी दिए । १०० जनाको पारिश्रमिक जोड्दा पाँच-छ लाख रुपैयाँ बाँकी रहेको छ । 

 

महोत्सवको आयोजना हुँदा कामदारले महोत्सवमा चर्पीदेखि गेटसम्म बनाउने काम गरेका भए पनि पारिश्रमिकबापतको पैसा नपाएको कामदारले गुनासो गरेका छन् । नगरपालिकाले स्थानीयलाई पारिश्रमिकबापत दिनको ८०० रुपैयाँ दिने भने पनि महोत्सव समापन भएको दुई वर्षसम्म आफूले पाउने पैसा नपाएको अर्का कामदार देवेन्द्र चन्दले गुनासो गरे । ‘मैले काम गरेबापत हुन आउने एक लाख रुपैयाँमध्ये ३५ हजार रुपैयाँ मात्र पाएको छु’, उनले भने ।


नगरपालिकाले पैसा नदिएपछि २०७६ असारमा नगरपालिकामा अनुरोध गर्दा कात्तिक मसान्तभित्र पैसा दिने नगरप्रमुख भीमबहादुर साउदले आश्वासन दिएका थिए । तर, पैसा भने नदिएको उनको भनाइ छ । मंसिर आधा पुग्दासमेत आफूले ज्याला नपाएको उनले गुनासो गरे । ‘परिश्रम गरेको पैसा नपाए कडा आन्दोलनमा उत्रिन्छौँ । केही क्षति भए स्थानीय सरकारले व्यहोर्नुपर्छ’, उनले भने ।


महोत्सवको समयमा उठ्नुपर्ने रकम बाँकी रहेकाले ज्याला दिन नसकेको र पैसा उठाउने कार्य सम्पन्न हुनेवित्तिक्कै कामदारले ज्याला पाउने परशुराम नगरपालिकाका उपप्रमुख कलावतीदेवी बोहराले जानकारी बताइन् । 


उनले महोत्सव नगरपालिकाको बजेटबाट नलगाएर चन्दा संकलन गरी लगाउने भन्ने निर्णय भएको तर पैसा संकलन नहुँदा ज्याला दिन समस्या भएको बताइन् । नगरपालिकाभित्रका कर्मचारी र जनप्रतिनिधिले पैसा दिने बचन दिएका भए पनि जनप्रतिनिधिले दिएको बचन पूरा नगर्दा समस्या भएको उनको भनाइ छ ।