close

कसले बदल्यो जन्मदिनमा प्रधानमन्त्रीले शिलान्यास गरेको सडक ?

पालिकावासी भन्छन्ः झेल भयो

कसले बदल्यो जन्मदिनमा प्रधानमन्त्रीले शिलान्यास गरेको सडक ?

पालिकावासी भन्छन्ः झेल भयो

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको तेह्रथुमको आठराई गाउँपालिकास्थित सुकेपोखरी हुँदै ताप्लेजुङको ढुंगेसाँघु जोड्ने कालोपत्रे सडकलाई राजनीतिक पहुँचका भरमा तोडमोड गरिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन् ।


भदौरे–ह्वाकु–चोकपुर–ढुंगेसाँघुसम्मको तल्लो भेगका बासिन्दाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रधानमन्त्री ओलीबाट शिलान्यास भएकै मार्गबाट सडक निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।


ध्यानाकर्षणपत्रअनुसार गत ११ फागुनमा आफ्नो जन्मदिन मनाउन तेह्रथुमको आठराईस्थित इवामा रहेको आफ्नो जन्मघर आएका प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुकेपोखरी–छातेढुंगा–भदौरे–ह्वाकु–चोकपुर–रमिते हुँदै मदन भण्डारी राजमार्ग जोड्ने ६५ किलोमिटर लामो यस सडकको शिलान्यास गरेका थिए ।


शिलान्यासका क्रममा समेत प्रधानमन्त्री ओलीले यही मार्गमार्फत सडक निर्माण प्रक्रिया अघि बढ्ने गरी सम्बोधन गरे पनि अहिले प्रधानमन्त्रीको सम्बोधनविपरीत ह्वाकु–ढाँडे–चोकपुर–रमिते–हाङपाङ हुँदै ढुंगेसाँघु जोड्ने सडकलाई तेह्रथुमको ह्वाकुबाट नै तोडमोड गरी सरस्वती मावि ह्वाकु–परमसिंह मावि निघुरादिन हुँदै दुर्गा उच्चमावि फूलबारीतिर लान खोजेको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्  ।


प्रधानमन्त्री ओलीको सम्बोधनविपरीत हुनेगरी जबर्जस्ती सडकको डीपीआर गरेर अघि बढे आफूहरू आन्दोलनमा उत्रिने स्थानीय शेरबहादुर इङनामले चेतावनी दिए । अर्का स्थानीय सूर्य बानियाँले प्रधानमन्त्रीले गरेको सम्बोधनअनुसार सडकको निर्माण कार्य अघि बढाउन माग गर्दै त्यसविपरीत हुने गरी तयार भइरहेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य रोक्न पनि सडक डिभिजन कार्यालयलाई आग्रह गरेका छन् ।