close

रघुगंगा र प्रतापुरमा सुविधासम्पन्न अस्पताल

रघुगंगा र प्रतापुरमा सुविधासम्पन्न अस्पताल

Trulli
ADVERTISEMENT

म्याग्दी/नवलपरासी–  म्याग्दीको रघुगंगा गाउँपालिकाले पिप्लेमा कोरोना अस्पताल स्थापना गरेको छ ।  कोरोना संक्रमितको उपचारका लागि रघुगंगाले कोरोना अस्पताल निर्माण गरेको हो ।


पिप्ले स्वास्थ्य चौकीको पुरानो भवन मर्मत गरेर ५ शैयाको कोरोना अस्पतालका स्थापना गरिएको रघुगंगा–३ का वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए ।

 

‘तीन कोठामा उपचार कक्ष राखिएको छ । दुई कोठालाई स्वास्थ्यकर्मीको प्रशासनिक काममा प्रयोग गरिनेछ’, उनले भने, ‘नजिकै रहेको स्वास्थ्य चौकीको नियमित सेवा प्रभावित नहुने गरी बस्तीदेखि केही टाढा रहेको भवनलाई कोरोना अस्पतालका लागि प्रयोग गरेका हौं ।’

 

चिकित्सक, स्वास्थ्यकर्मी र संक्रमितको लागि बनाइएको फरक कोठालाई घेराबार गरिने उनले बताए । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० लाख बजेट पठाएको थियो । पालिकाले दुई नर्स र एक कार्यालय सहयोगी भर्ना गरिसकेको छ ।
चिकित्सकको विज्ञापन गरे पनि आवेदन नपरेको वडाध्यक्ष मल्लले बताए ।


कोरोना अस्पतालका लागि आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजनलगायतका औजार र औषधीको समेत व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

 

लक्षण नभएका संक्रमितलाई प्रि–आइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टीकाबहादुर शाहीले बताए ।

 

चिकित्सकको खोजीसँगै गाउँपालिकाका अन्य स्वास्थ्य संस्थाबाट पनि आवश्यकताका आधारमा कोरोना अस्पतालमा जनशक्ति खटाउने गाउँपालिकाले जनाएको छ ।

 

‘जनप्रतिनिधिले दसैं भत्ताबापत पाएको रकमबाट कोरोना अस्पतालका साथै १६ वटा स्वास्थ्य चौकीमा दुई–दुई अक्सिजन सिलिन्डर व्यवस्था गरेका छौं’, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने ।


 
संक्रमण फैलिने दर बढ्दै गएपछि म्याग्दीका स्थानीय तह कोरोना अस्पताल सञ्चालनमा जुटेका छन् । मंगला गाउँपालिकाले अर्मन स्वास्थ्य चौकीको भवनमा ५ शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गरिसकेको छ ।

 

मालिका गाउँपालिकाले दरवाङको जनप्रिय माविको भवनमा स्थापना गरेको कोरोना अस्पताल तथा प्रिआइसोलेसन कक्षमा चिकित्सकसमेत व्यवस्थापन भइसकेको छ ।

 

धवलागिरि गाउँपालिकाले ताकम स्वास्थ्य चौकीमा कोरोना अस्पताल र घट्टेखोलाको सामुदायिक भवनमा आइसोलेसन स्थापना गरेको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा कोरोना अस्पताल बनाएको छ ।

 

प्रतापपुरमा पनि बन्दै


नवलपरासीको प्रतापपुर गाउँपालिकाले जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल बनाउने भएको छ ।


संघीय सरकारले प्रत्येक पालिकामा अस्पताल बनाउने नीति लिएपछि पालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी स्वास्थ्य केन्द्र बनाउन लागेको हो ।


अस्पताल निर्माणका लागि छलफल सुरु गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुकुमारी चौधरीले जानकारी दिइन् ।

 

१५ मंसिरमा कार्यवाहक गाउँपालिका अध्यक्ष चौधरीबाट अस्पताल शिलान्यास कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले बताए ।


‘अस्पताल निर्माणका लागि तीन करोड ७८ लाख रुपैयाँ प्राप्त भएको छ  । बहुवर्षे कार्यक्रममा समेटिएको सरकारको १८ करोड ६ लाख ८२ हजारको लागतमा अस्पताल बनाउने योजनाअनुसार २० प्रतिशत रकम निकासा भइसकेको छ’, खनालले भने ।


जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २४ घन्टे बर्थिङ सेवा, बहिरंग सेवा, ल्याब तथा प्याथोलोजी र युएसजी सेवा सञ्चालनमा रहेको सिनियर अहेब अधिकृत  इन्द्रप्रसाद लामिछानेले बताए ।