close

सिटामोल किन्न अब दिनभर हिँड्नै पर्दैन अन्नाडीबासीले

सिटामोल किन्न अब दिनभर हिँड्नै पर्दैन अन्नाडीबासीले

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुराको गौमूल गाउँपालिका वडा नं. १ मा रहेको दुर्गम गाउँ अन्नाडी गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य सेवा गाउँमै पाएका छन् ।


गौमूल गाउँपालिकाले अन्नाडी गाउँमा अन्नाडी सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरी स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए । बाजुराको दुर्गम गाउँका रूपमा रहेको यस गाउँका बासिन्दा स्वास्थ्य सेवा लिनका लागि एक दिन लगाएर दहकोट स्वास्थ्य चौकी पुग्ने गरेका थिए ।


पहिलो पटक गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएर स्वास्थ्य सेवा पाएको अन्नाडी गाउँकी स्वास्थ्य स्वयंसेविका कमला धामीले बताईन् । यहाँका स्थानीय स्वास्थ्य सेवाबाट बिमुख रहँदै आएका थिए । गाउँपालिकाले स्वास्थ्य चौकीसँगै अहेव, अनमी, कार्यालय सहयोगी र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरेको अध्यक्ष रोकायाको भनाइ छ ।
 


सो गाउँमा ४४ परिवार बसोबास गर्दै आएका छन् । यो गाउँ राज्यका हरेक सेवा सुविधाबाट बञ्चित हुँदै आएको थियो ।


भौगोलिक बिकटताले निकै टाढा रहेको अन्नाडी गाउँमा पहिलो पटक स्वास्थ्य सेवा पाउँदा स्थानीय निकै खुसी भएका छन् । स्थानीयलाई सामान्य बिरामी हुँदा सिटामोल, जीवन जललगायतका औषधि लिन पनि एक दिनको यात्रा गर्नुपरेको थियो । अहिले गाउँमै औषधि तथा उपचार पाउँदा खुसी भएको स्थानीय पदमकला बोहोराले बताइन् ।


गौमूल गाउँपालिकाले दुर्गम गाउँमा स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुसार स्वास्थ्य सेवा स्थापना गरेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन् । चाँडै प्रसूति सेवा संचालनमा ल्याउने तयारी भइरहेको थापाले जानकारी दिइन् ।


विगतमा अन्नाडी गाउँका बालबालिका खोप सेवा पाउनबाट समेत बञ्चित रहँदै आएका थिए । अहिले स्वास्थ्य चौकीबाट आधारभूत स्वास्थ्य सेवा पाउने गरेको अनमी प्रतिभा रोकायाले बताइन् ।


जनसंख्या कम भए पनि दैनिक सातदेखि १० जना उपचारका लागि आउने गरेको स्वास्थ्य केन्द्रले बताएको छ । गाउँमा स्वास्थ्य चौकी नहुँदा जडीबुटीको भरमा उपचार गर्ने गरेका थिए । दहकोट स्वास्थ्य चौकी टाढासँगै भिरको बाटो आवतजावत गर्न समस्या हुने गरेको थियो ।


बिरामी बोकेर ल्याउन राम्रो बाटोसमेत थिएन । समयमै उपचार नपाएर स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको थियो । गाउँका प्रायः महिलाहरू घरमै बच्चा पाउने गरेका थिए ।


अहिले प्रसूति सेवा संचालन नभए पनि स्वास्थ्यकर्मीको सहयोगमा प्रसूति सेवा दिइरहेको छ । बाजुराका दुर्गम गाउँ हिमाली गाउँपालिकाको गुम्बा, लाम्पाटालगायतका ठाउँमा अझै स्वास्थ्य सेवा पुग्न सकिरहेको छैन । त्यस क्षेत्रका नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् ।