close

मालिकाका गाउँगाउँमा घुम्ती हाटबजार

मालिकाका गाउँगाउँमा घुम्ती हाटबजार

Trulli
ADVERTISEMENT

गुल्मी– एकातिर गाउँमा काम गर्ने नै भेटिँदैनन् । काम गरेकाको उत्पादन बिक्दैन । बिके पनि उचित मूल्य छैन । उपभोक्ता र कृषकको भेट कहिल्यै हुँदैन । बिचौलिया गाउँगाउँमा पुग्छन् ।


किसानबाट सस्तोमा कृषि उपज खरिद गर्छन् । बजार ल्याएर चर्को मूल्यमा बजारमा बिक्री गर्छन् । यो हरेक स्थानीय तहको प्रमुख समस्या हो, जुन समस्यालाई स्थानीय तहले दीर्घकालीन समाधान गर्न सकेका छैनन् । यो अवस्थाको अन्त्यका लागि मालिका गाउँपालिकाले गाउँगाउँमा हाटबजार संचालन गर्न थालेको छ ।


किसानको कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले घुम्ती हाटबजार संचालन गर्ने निर्यण गाउँपालिकाले गरेको छ । आफूले उत्पादन गरेको कृषि उपज बिक्री नहुने चिन्तामा किसान छन् । यसका कारण व्यावसायिक कृषि खेतीतर्फ आकर्षण कम छ । सोही समस्यालाई समाधान गर्न मालिका गाउँपालिकाले हरेक दिन घुम्ती हाटबजार संचालन गर्न थालेको गाउँपालिका अध्यक्ष रीतबहादुर थापाले जानकारी दिए ।


अब हरेक दिन आठवटै वडामा हाटबजार संचालन हुनेछ । गाउँपालिकाले हरेक वडामा हाटबजारको स्थान तय गरेको छ । सोही स्थानमा उपभोक्ता र कृषकबीच कृषि उत्पादन किनबेच हुनेछ । बिक्री नभएको सामग्री अर्को दिन नजिकैको वडामा लगेर बिक्री गर्ने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए ।


पछिल्लो समय मालिका गाउँपालिकाले गाउँगाउँमा संचालन गर्न थालेको घुम्ती हाटबजारको विषयलाई सामाजिक संजालमार्फत स्वागत गरिएको छ । तर, गाउँपालिकालाई कार्यान्वनसँगै निरन्तरताको चुनौती पनि छ । कृषक र उपभोक्ताको प्रत्यक्ष उपस्थितिमा घरेलु कृषि उपज बिक्री हुने भएकाले एकातिर दुवै ठगिनु नपर्ने र अर्कोतर्फ ताजा र गुणस्तरीय वस्तुको उपयोग हुने भएकाले हाटबजार संचालन गर्ने नीति लिएको थियो ।


सोहीअनुसार १४ मंसिरदेखि हाटबजार संचालनको योजना अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । उनले आवश्यकताका आधारमा कृषि एम्बुलेन्ससमेत कृषकहरूलाई खरिद गरेर प्रदान गरिने योजना बनाएको जानकारी दिए । यसका लागि गाउँपालिकाबाट १५ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।


१४ मंसिरदेखि आइतबार वडा नं. २ दर्लिङको दह, सोमबार वडा नं. ३ ह्वाङ्दीको औरास्ने डाँडा, मंगलबार वडा नं. ४ अर्खावाङको ठूलीचौर, बुधबार वडा नं. ५ हिलेको सागबारी र छापको जमपोखरामा घुम्ती हाटबजार संचालन हुनेछ ।


त्यस्तै, बिहीबार वडा नं. ७ घमिरको ठाँटी, शुक्रबार वडा नं. ६ अर्जैको पोखराबारी मोठ र शनिबार वडा नं. १ नेटाको जैसीपोखरा तथा वडा नं. ८ मरभुङ्गको सिमलटारीमा घुम्ती हाटबजार संचालन गर्ने सार्वजनिक सूचनामार्फत गाउँपालिकाले जानकारी दिएको छ । उपभोक्ता र कृषकको आपसी समझदारीमा मूल्य निर्धारण हुने बताइएको छ ।


गाउँपालिकाका प्रवक्ता शोभाकर गिरीका अनुसार कृषि र पशुपालनका क्षेत्रमा गाउँपालिकाभित्र झण्डै तीन करोड रुपैयाँ खर्च हुँदै छ । गाउँपालिकाले बाख्रा विकास परियोजनाका लागि एक करोड ४८ लाख रुपैयाँ बिनियोजन गरेको छ भने भैँसी प्रवद्र्धनमा ३१ लाख ३० हजार रुपैयाँ खर्च गर्नेछ ।

गाउँपालिकाको वडा नं. ४ अर्खाबाङ र वडा नं. ६ अर्जेमा भैँसी प्रवद्र्धन कार्यक्रम कार्यान्वयनको चरणमा रहेको गिरीले बताए । उन्नत भैँसी र चिलिम भ्याट खरिद तथा डेरी संचालनलगायतका काम दुई वडामा हुनेछन् । त्यस्तै, बाख्रा विकास स्रोत केन्द्रका लागि १५ लाख रुपैयाँ पनि गाउँपालिकाबाट बिनियोजन गरिएको छ । प्रवक्ता गिरीले गाउँपालिकाको वडा नं. २ दर्लिङमा बाख्राका पाठी उत्पादन कार्यक्रम लागू भएको पनि बताए ।

 

मालिका गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा रोजगार सेवा आयोग गठन गर्ने उल्लेख गरेको छ । यस आयोगमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम, कामका लागि खाद्यान्न कार्यक्रम र श्रममूलक आयोजना संचालन तथा व्यवस्थापन गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष देवा अर्यालले बताइन् । कोरोनाको असर परेका नागरिकलाई कृषि, पशुपालन, घरेलु उद्योग, होटललगायतका उद्यम संचालनमा सहकारीमार्फत सहुलियतमा कर्जा दिने नीति पनि गाउँपालिकाको रहेको अर्यालले जानकारी दिइन् ।


करार खेतीमार्फत बाँझो जमिनलाई उत्पादनशील बनाउन कृषियोग्य जमिनको चक्लाबन्दी गरेर भूबैंकमार्फत रोजगारी सिर्जना गर्ने गाउँपालिकाको नीति रहेको छ । सोही नीतिअनुसार मालिका गाउँपालिका– ६ अर्जेबेसी फाँटमा चक्लाबन्दी अभियान सुरु भएको छ ।