close

डेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

डेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

Trulli
ADVERTISEMENT

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी  डेढ महिना (४३ दिन)पछि खुलेको छ ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोध तथा विभिन्न माग गर्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले २८ असोजदेखि तालाबन्दी गरेका थिए ।


प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकविना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्त गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति खारेजी गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको थियो ।

 

उपकुलपति प्रा.डा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटकपटक वार्ता गर्न निर्देशन दिए पनि तालाबन्दी खुल्न सकेको थिएन । पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्तामा बस्न नमान्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो ।


अन्त्यमा आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीबीच माग गरिएका तीनवटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिए ।


सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरूको सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेस गर्ने सहमति भएको छ ।


त्यस्तै, प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायक डीन रहने सहमति भएपछि ताला खोलिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

 

यता, ललितपुरको महालक्ष्मीस्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरूलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति भएको छ । प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेर काम गर्ने सहमति पनि भएको छ ।


गत २६ असोजमा प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा.डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए ।


प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारीले बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भएअनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरूले आन्दोलन गरेका थिए ।


ताला खुलेपछि प्रतिष्ठानका उपकुलपति वाग्लेको कार्यकक्षमा पत्रकारले सूचना र प्रतिक्रिया लिन खोज्दा कार्यकक्षमै नपसी उनी बाहिरिएका थिए ।