close

राष्ट्रिय परिचयपत्र संकलन टोली हरेक पालिकामा पठाउने तयारी

राष्ट्रिय परिचयपत्र संकलन टोली हरेक पालिकामा पठाउने तयारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– फुङ्लिङ नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयबाटै संकलन हुँदै आएको राष्ट्रिय परिचयपत्रको विवरणमा ज्यादै न्यून सहभागिता भएपछि विवरण संकलन कार्य पालिका स्तरमा विकेन्द्रित गरिने भएको छ ।


जिल्ला प्रशासन कार्यालयले फुङ्लिङ नगरपालिकाका लागि मात्र प्रशासन कार्यालयमार्फत संकलन हुने गरी व्यवस्था गरेर अन्यका लागि सम्बन्धित पालिकामै टोली खटाउने भएको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले अब केही दिनभित्रै पालिका–पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन टोली परिचालित हुने जानकारी दिए ।


प्रजिअ चापागाईंका अनुसार सदरमुकाम केन्द्रित विवरण संकलनमा अहिलेसम्म करिव ९०० जनाको मात्र विवरण संकलन भएको छ । २०५८ सालको जनगणनाअनुसार ताप्लेजुङको कुल जनसंख्या एक लाख २७ हजार ४६१ छ । विवरण संकलन सुरु भएको करिव चार महिनाभन्दा बढी अवधिमा एक हजारभन्दा कम संख्याको विवरण संकलन भएपछि अब पालिका स्तरमै राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा अद्यावधिक टोली परिचालन गरिने प्रजिअ चापागाईंले बताए ।


सरकारले अबको तीन वर्षभित्रमा देशका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भनेको छ । तर, ताप्लेजुङमा संकलनको अवस्था यही गतिमा रहने हो भने सो अवधिमा आधा जनसंख्याभन्दा पनि कमको मात्र विवरण संकलन तथा अद्यावधिक हुने स्थिति देखिन्छ ।


‘त्यही भएर अबको केही समयभित्रै राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि टोलीहरू गाउँगाउँमा परिचालित हुनेछन्’, प्रजिअ चापागाईंले भने ।