close

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सकियो, यस्तो हुँदै छ विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतिशत काम सकियो, यस्तो हुँदै छ विमानस्थल

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशको मूलढोका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको भौतिक पूर्वाधार निर्माणको काम विभिन्न बाधा र अवरोधका बीच करिब अन्तिम चरणमा पुगेको छ ।


राष्ट्रिय गौरवको आयोजना विमानस्थल झन्डै आठ वर्षको अवधिमा भौतिक संरचना निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा समेत गौतमबुद्ध विमानस्थलका लाइट (बत्ती) जडान र केही ठाउँको ‘फिनिसिङ’ गर्न मात्र बाँकी रहेको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । विमानस्थल ३० डिसेम्बर २०१९ मा संचालनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए पनि कोरोनाका कारण विमानस्थल निर्माण रोकिएको थियो ।


अधिकारीले फिनिसिङ र लाइट जडान गर्ने प्राविधिक विदेशबाट ल्याउनुपर्ने हुँदा दुईवटा काम लाइटिङ र फिनिसिङ मात्र बाँकी रहेको बताए ।


विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण सकिएर रङरोगनको काम भइरहेको छ भने प्रस्थान कक्षको भवन निर्माण सकिएर एसी जडानलगायतका काम भइरहेका छन् । एयरलाइन्सका लागि आवश्यक काउन्टर बनाउने, एसी जडान, वायरिङलगायतका कामहरू सकिने क्रममा छन् ।


तीन हजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र जहाज पार्किङ गर्ने एप्रोनको काम सकिएको छ ।


विमानस्थल निर्माणले अन्तिम रूप पाउन लागे पनि सरकारले संचालनको मिति र रुट पर्मिटको विषय टुंगो लगाउन सकेको छैन । सरकारले निर्माण कम्पनीका लागि पाँच पटक समय थप गरेर २०२१ डिसेम्बरसम्म म्याद थप गरेको छ ।


यस विमानस्थलको शिलान्यास १ माघ २०७१ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाले गरेका थिए । यस विमानस्थलले लुम्बिनी प्रदेशको विकासको ढोका खोल्ने आशा गरिएको छ ।


आयोजनाका अनुसार विमानस्थल दुई चरणमा निर्माण भइरहेको छ । आईसीपी १ र आईसीपी २ गरी विमानस्थलको काम भएको हो । आईसीपी १ अन्तर्गतका कामहरू सम्पन्न भइसकेका छन् भने आईसीपी २ अन्तर्गतका काम केही बाँकी छन् । १ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् ।


२ अन्तर्गत जहाज, पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्रविधि निर्माण रहेको छ । यसका उपकरण जडानको काम बाँकी छ । केही उपकरण ल्याउनुपर्ने भएको हुँदा कोरोनाले गर्दा आउन पाएका छैनन् । चीनबाट आउनुपर्ने सामान केही दिनमै विमानस्थल परिसरमा आइपुग्नेछन् भने केही नेपाल–चीनबीचको सिमानामा रहेका कारण सामानहरू आउने क्रममा छन् । तिनै सामान जडान गर्ने दक्ष जनशक्ति भने आउने टुंगो लाग्न सकेको छैन ।


निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार २०७४ सालभित्रै निर्माण सम्पन्न नभएपछि आयोजनाले पटकपटक गरी पाँच पटक म्याद थप गरेको छ । विमानस्थल २०७२ सालको भूकम्प र मधेस आन्दोलनको अवरोध, नदीजन्य पदार्थको समस्याले विभिन्न उल्झन झेल्दै अहिले अन्तिम चरणमा आइपुगेको छ ।
 

विमानस्थल निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र स्थानीय ठेकेदार कम्पनीबीच आन्तरिक समस्याले पनि विमानस्थल निर्माणको काम प्रभावित पारेको थियो । पछिल्लो समय कोरोनाका कारण फेरि विमानस्थल निर्माणमा कठिनाइ आएको छ । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले आयोजनाको निर्माण सम्झौता गरी काम सुरु गरेको थियो ।


विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण हुने भएको छ । दोस्रो टर्मिनल भवन हाल बनेको भवनको पश्चिम छेउमा बन्ने अधिकारीले बताए । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सनले ३१ डिसेम्बर २०१७ सम्म सम्पन्न गर्नुपर्ने गरी सहमति भएको थियो । तर म्याद थप गर्दै सन् २०२१ सम्म पुगेको छ । नर्थ वेस्ट कम्पनीले छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।