close

महिलाले आलु फलाउँछन्, नगरपालिकाले बेचिदिन्छ

महिलाले आलु फलाउँछन्, नगरपालिकाले बेचिदिन्छ

Trulli
ADVERTISEMENT

वालिङ– केही अघिसम्म घरमै थन्किएर बस्ने वालिङका दलित महिला यतिवेला सधै खेतवारीमै भेटिन्छन् । नगरको वडा नम्बर ९ र १० का विशेषगरी दलित समुदायका महिला यतिवेला समुहिक आलुखेतीमा जुटेका छन् ।


वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती भइरहेको छ ।

 

४० जना दलित समुदायका महिला मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्मा बताउँछिन् ।

 

उनीहरुलाई आलुको बिउ नगरपालिकाले दिएको छ भने बेच्न नसे बजारपनि उसैले खोजिदिने भनेको छ । ‘नगरपालिकाले आलुको बीउ, आवश्यक मलखाद तथा अन्य औषधिहरु निःशुल्क उपलब्ध गराएको छ’, अध्यक्ष विश्वकर्माले भन्छिन्, हामीले समूह बनाएर श्रम मात्र गर्ने हो ।’


महिला दिदीबहिनीहरुले सानो सानो रकम खर्च गर्न पर्दा पनि श्रीमान्कै मुख ताक्नुपर्ने अवस्था रहेकाले महिला दिदीबहिनीहरु आफै आत्मनिर्भर बन्न सक्ने हुनुपर्छ भनेर समूहमार्फत व्यावसायिक आलु खेती गरेको अध्यक्ष विश्वकर्माको भनाइ छ ।


उत्पादन भएको आलु समूहले आफंै बिक्री गर्ने र बिक्री गर्न नसकेको खण्डमा नगरपालिकाले बजार व्यवस्थापना गरिदिने आश्वासन पाएको समूहकी अध्यक्ष विश्वकर्मा बताउँछिन् ।

वचत भएको रकम समूहभित्रैका महिलाहरुको आर्थिक सशक्तिकरणका लागि प्रयोग हुनेछ । समूहले यसपटक पाँच रोपनी क्षेत्रफलमा ‘जनकदेव’ जातको आठ क्वीन्टल आलुको बीउ लगाउने भएको हो ।


आलु प्राविधिकहरुको प्रत्यक्ष निगरानी र सल्लाहमा नगरपालिकाका तीन वटा क्षेत्रमा सामूहिक आलु खेती गरिएको महिला समूहलाई सघाइरहेको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताइन् । ‘समूहमार्फत काम गर्दा एकआपसमा सीपको आदान प्रदानका साथै सहज पनि हुने भएकाले समूहमार्फत गरिने खेती प्रणालीलाई जोड दिएका हौं’, अध्यक्ष तिवारी भन्छिन्, ‘सामूहिक खेतीले आम्दानीमा बृद्धि र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने ठानेका छौं ।’

अन्य वडामा पनि हुँदैछ आलु खेती


यसका अलावा परियोजना अन्तर्गत वालिङ १४ को पनियारेमा १५ रोपनीमा १० क्वीन्टल र वालिङ ६ मा १० रोपनीमा ८ क्वीन्टल आलु लगाइने भएको हो ।


नगरपालिकाले समूहमार्फत गरिने खेती प्रणालीलाई प्राथमिकता दिंदै उत्पादकत्व बृद्धिमा जोड दिएको नगर प्रमुख दिलीपप्रताप खाँण बताउँछन् । ‘परम्परागत कृषि प्रणालीबाट माथि उठेर आधुनिक कृषि प्रणालीलाई अंगिकार गर्दै अगाडि बढ्न आलु खेतीलाई प्रोत्साहन गरिएको उनको भनाइ छ ।


स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङका १४ वटै वडामा उत्पादन बढाउने गरी अभियान सुरु गरिएको नगर प्रमुख खाँण बताउँछन् । ‘हाम्रो ध्यान भनेकै यस ठाउँको वातावरण र माटो सुहाउँदो उत्पादन हो,’ नगर प्रमुख खाँणको भन्छन् ।