close

बालविवाह रोक्न मालिकाले बनायो समाज कल्याण परिषद्

बालविवाह रोक्न मालिकाले बनायो समाज कल्याण परिषद्

Trulli
ADVERTISEMENT

गुल्मी–  कानुन अनुसार विवाह गर्ने उमेर २० वर्ष हो । यो भन्दा कम उमेरमा गरिने विवाह बाल विवाह मा पर्छ । कम उमेरमा विवाह गरे कानुन अनुसार सजाय हुन्छ ।


तर, सचेतनाको कमीको कारण लुकिछिपी विवाह गर्नेहरु पर्याप्त भेटिन्छन् गुल्मीमा । बालविवाह वढेपछि गुल्मीको मालिका गाउँपालिकाले अभियान थालेको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रममा लक्षित समूहको बृहत्तर विकासको लागि मालिका समाज कल्याण परिषद् गठन गर्ने उल्लेख छ ।


परिषद् गठन गरेर बालविवाह मुक्त गर्ने योजना गाउँपालिकाले अघि सारेको गाउँपालिका प्रमुख रितबहादुर थापाले जानकारी दिए । उनले खुल्ला रुपमा बालविवाह नभए पनि प्रेमको नाममा भागेर बिहे गर्ने प्रवृति गाउँपालिका भित्र रहेकाले बालबालिका र अभिभावलाई सचेत बनाउने अभियानको सुरुवात गरिएको बताए ।

 

मालिका गाउँपालिका ८ का तुल्सी अर्यालको संयोजकत्वमा १५ सदस्यीय समाज कल्याण परिषद् गठन गरिएको छ । परिषदमा प्रत्येक वडाबाट दलित, महिला, बालबालिका, अपाङहरुको प्रतिनिधित्व छ ।

 

सदस्य सचिवको रुपमा गाउँपालिकाको एक जना कर्मचारी रहने व्यवस्था छ । परिषद्ले अहिले गाउँपालिका भित्र १५–२० वर्ष उमेर समुहका बालबालिकाको तथ्यांक संकलनको काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।


उनले तथ्यांक संकलनसँगै प्रत्येक वडामा वडास्तरीय बालक्वल र गाउँपालिका स्तरीय बालसञ्जाल गठन गरिने बताए । संरचना निर्माणपछि अधिवक्ता र प्रहरी अधिकृतद्धारा बालविवाह, त्यसको अवस्था, प्रभाव, न्यूनिकरणका उपाय तथा कानुनी व्यवस्थाका बारेमा सञ्जाललाई प्रशिक्षण दिने कार्ययोजना समाजकल्याण परिषद् मार्फत बनाइएको भण्डारीले बताए ।


मालिका गाउँपालिकाका ८ वटै वडाका बालक्लवलाई प्रशिक्षित गरेपछि क्लब आवद्ध सवैलाई ‘म बाल–बिबाह गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने प्रतिवद्धता गराइने छ । बालबिबाहको विरुद्धमा बालक्लव र सञ्जाल प्रतिवद्धभएपछि गाउँ–गाउँमा प्रचारप्रसार, सचेतना मूलक सडक नाटक, प्रशिक्षण, घरदैलो लगायतका कार्यक्रम संचालन गरिने मालिका गाउँपालिकाको सामाजिक विकास समिति संयोजक शोभाखर गिरीले बताए ।


उनले नीतिसहित समाज कल्याण परिषद् मार्फत २१ लाख बजेट बिनियोजन गरेर कार्यक्रम संचालन गरेकाले गाउँ–गाउँमा बालविवाह विरुद्धको अभियान सञ्चालन गरिने बताए ।


सामाजिक सञ्जाल मार्फत माया प्रेम गर्ने उमेर नपुग्दै विद्यालयबाटै भागेर बिहे गर्नेको संख्या मालिका गाउँपालिकाका विभिन्न वडाहरुमा थपिदै गएका छन्् । त्यसले पछि पारिवारिक बिचलन, सम्बन्ध बिच्छेद तथा सानै उमेरमा बच्चा जन्मिएपछि शारिरीक तथा मानसिक समस्या ल्याउने गरेको छ ।

 

१५-१६ बर्षमै बच्चा जन्मिने र बुबा–आमा २० बर्ष नपुगेसम्म जन्मदर्ता बनाउन नमिल्ने लगायतका कानुनी समस्या आफुहरुले खेप्दै आएको सामाजिक विकास समिति संयोजक तथा मालिका गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष गिरीले बताए ।