close

१० पालिकाले पढाउन थालेपछि के गर्दैछन् काभ्रेका तीन स्थानीय तह ?

१० पालिकाले पढाउन थालेपछि के गर्दैछन् काभ्रेका तीन स्थानीय तह ?

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेमा कोरोनाका कारण गरिएको लकडाउनले गत ११ चैतदेखि बन्द स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ । ६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा बनेपा, पनौती र नमोबुद्ध नगरपालिकाबाहेक अन्य स्थानीय तहका विद्यालय खुलेका हुन् ।


बनेपाका सबै विद्यालयमा अनलाइनबाटै कक्षा सञ्चालन भइरहेको छ । काभ्रेका स्थानीय तहमध्ये कोभिड–१९ को उच्च जोखिममा रहेको बनेपा नगरले अझै पनि विद्यालयको नियमित कक्षा सञ्चालन गर्न सकिरहेको छैन ।


बनेपाका विद्यार्थीलाई अनलाइनकै भर


बनेपामा रहेका ३८ सामुदायिक तथा निजी विद्यालय सबैले शिक्षणको वैकल्पिक उपाय अपनाई पठनपाठन गराउँदै आएका छन् ।
बनेपाका सबै विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहे पनि कतिपय अनलाइनको पहुँच नभएका विद्यार्थीका लागि इन्टरनेटको व्यवस्था गर्न नगरपालिकाले योजना बनाइरहेको बनेपा नगरका शिक्षा शाखा प्रमुख श्यामसिंह धामीले बताए ।


उनका अनुसार नगरपालिकाको शिक्षा शाखाको बैठक बसी नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई छिट्टै विद्यालय नियमित सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । हाल बनेपाका २० सामुदायिक विद्यालयमा कक्षा १२ को परीक्षा केन्द्र तोकेर परीक्षा चलिरहेको उनले जानकारी दिए ।


पनौती नगरका विद्यालयमा पनि अनलाइन कक्षा


पनौती नगरभित्रका ३४ सामुदायिक र १९  निजी विद्यालय सबैले अनलाइनबाटै कक्षा सञ्चालन गरिरहेका छन् । दसैंअगाडि केही दिन विद्यालय खोलेको पनौती नगरले कोरोना जोखिम बढेपछि पुनः बन्द गरेको थियो ।


नगरपालिकाको शिक्षा शाखा बैठकले नियमित पठनपाठन सुरु गर्ने योजना बनाए पनि विद्यालयका प्रधानाध्यापक र अभिभावकसँग बैठक बसेर निर्णय गर्न भने बाँकी रहेको पनौती नगर शिक्षा शाखा प्रमुख पुष्पाकुमारी अर्यालले बताइन्  ।


धुलिखेलमा कतै खुले, कतै खुल्ने तयारी


धुलिखेल नगरपालिकाभित्रका २५ सामुदायिक र ११ निजी विद्यालयमध्ये केही ८ मंसिरबाट खुलेका छन् भने कतिपय खुल्ने तयारीमा छन् ।


धुलिखेल नगरको गत ७ मंसिरमा बसेको सरोकारवालासँगको बैठकबाट सम्पूर्ण विद्यालयलाई केन्द्र सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर नगरका सम्पूर्ण विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको थियो ।


कक्षा ३ सम्मका विद्यार्थीलाई भने हाल वैकल्पिक विधिबाट पठनपाठन गराउने निर्णय भएको धुलिखेल नगरका शिक्षा शाखा प्रमुख माधव शर्माले जानकारी दिए ।


‘एउटा कक्षाकोठामा २५ भन्दा बढी विद्यार्थी नराख्ने गरी पठनपाठन गराउन नगरले  विद्यालयहरूलाई निर्देशन दिएको छ’, शर्माले भने ।


नमोबुद्धका विद्यालय १५ मंसिरपछि मात्रै खुल्ने


नमोबुद्ध नगरमा रहेका ४० सामुदायिक र सात निजीमध्ये सबै विद्यालय १५ मंसिरपछि मात्रै खुल्ने भएका छन् ।


नगरपालिकाको शिक्षा शाखाको सरोकारवालासँग बसेको बैठकले १५ मंसिरपछि मात्रै विद्यालय नियमित सञ्चालन गर्ने निर्णय गरेको छ ।


स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउन र कोभिड–१९ को जोखिम कम गर्न सुरुमा विद्यार्थी तथा अभिभावकलाई सचेतनामूलक कक्षा दिएर मात्रै विद्यालय खोल्ने तयारी भइरहेको नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख जनार्दन रिजालले जानकारी दिए ।


‘नगरको बजार एरियामा रहेका लगभग १५ विद्यालयमा विद्यार्थीको संख्या धेरै हुँदा बढी भीडभाड हुने भएकाले दुई सिफ्टमा सञ्चालन गर्ने र बाँकी विद्यालयमा पहिलेकै जसरी सञ्चालन गर्न विद्यालयहरूसँग छलफल भइरहेको छ’, रिजालले भने ।


पाँचखालका सबै विद्यालय नियमित सञ्चालनमा


पाँचखाल नगरमा रहेका ३८ सामुदायिक र ११ निजी विद्यालयले ३ मंसिरबाट नियमित कक्षा सञ्चालन गरिरहेका छन् । नेपाल सरकारको निर्णयबमोजिम नगरपालिकाको शिक्षा शाखा बैठकले नगरभित्रका सम्पूर्ण विद्यालयलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नियमित पढाइ सुचारु गर्ने निर्णय गरेको थियो ।


नगरका कतिपय वडाका अभिभावक र विद्यार्थीलाई समेत कोभिड–१९ को संक्रमण देखिएका कारण नगरपालिकाले शिक्षा मन्त्रालयको सिकाइ सहजीकरण पुस्तिका, २०७७ मा उल्लिखित सिकाइका उपयुक्त हुने विधिअनुसार विद्यार्थी, अभिभावक र समितिसँग बैठक बसेर  पठनपाठन गराउन शिक्षा शाखाले विद्यालयहरूलाई पत्राचारसमेत गरेको छ ।


पाँचखालका विद्यालयको अर्धवार्षिक परीक्षा भने मंसिर तेस्रो साता सञ्चालन गर्न प्रधानाध्यापकहरूसँग सल्लाह भइरहेको नगर शिक्षा शाखाले जनाएको छ ।


मण्डन देउपुरका सबै विद्यालय खुले


मण्डन देउपुर नगरपालिकामा रहेका ४४ सामुदायिक र सात निजी विद्यालय गत ७ मंसिरबाट नियमित सञ्चालनमा आएका छन् । विद्यालयमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर नियमित पठनपाठन सुरु भएको हो ।


रोशीकामा पनि खुले विद्यालय

 

रोशी गाउँपालिकामा रहेका ६९ सामुदायिक र तीन निजी विद्यालयले गत ७ असोजबाट नियमित कक्षा सञ्चालन गर्दै आएका छन् ।


गाउँ कार्यपालिका बैठकको निर्णयबमोजिम निजी तथा सामुदायिक सबै विद्यालयहरूले ३० जनासम्म विद्यार्थीलाई एक सिफ्ट, ३० भन्दा बढी र ५० जनासम्म विद्यार्थी भएका कक्षालाई दुई सिफ्ट, ५० देखि ७५ सम्म तीन सिफ्ट र एक सय विद्यार्थी भएका कक्षालाई चार सिफ्टमा राखेर विद्यालयको नियमित पठनपाठन सुरु गरिसकेको रोशी गाउँपालिकाका शिक्षा शाखाप्रमुख रामबहादुर तामाङले जानकारी दिए ।


बेथानचोकका विद्यालय असोजदेखि नै खुला


बेथानचोक गाउँपालिकामा रहेका ३० सामुदायिक र २ निजी विद्यालयमा गत असोजदेखि नै नियमित पढाइ भइरहेको छ  । कोरोना जोखिमले गत ११ चैतदेखि देशभरका विद्यालय बन्द भए पनि बेथानचोकका अधिकांश विद्यालयले  वैकल्पिक विधि अपनाएर नियमित पठनपाठन गराउँदै आएका थिए ।


आधारभूत विद्यालयमा पहिलेकै जसरी १० देखि ४ बजेसम्म एक सिफ्टमा कक्षा सञ्चालन भएको छ भने मावि तथा उच्च माविमा बिहानी सत्र र दिवा सत्र गरी दुई सिफ्टमा पढाइ भइरहेको छ ।


‘मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायतका ‘कोभिड–१९ को जोखिमबाट सावधानी अपनाउन आवश्यक पर्ने स्वास्थ्य सामग्री गाउँपालिकाले सम्पूर्ण विद्यालयलाई निःशुल्क उपलब्ध गराएको छ,’ गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले भनिन् ।


विद्यालयको अर्धवार्षिक परीक्षा भने मंसिर अन्तिम साता सञ्चालन गर्ने तयारी भइरहेको उनले बताइन् ।


खानीखोलाका सबै विद्यालयमा नियमित पढाइ


खानीखोला गाउँपालिकामा रहेका ३८  सामुदायिक विद्यालय गत ३ मंसिरबाटै नियमित सञ्चालनमा आएका छन् । गत असोजमा एक साता विद्यालय खुले पनि कोभिड–१९ को संक्रमणको जोखिम बढेपछि पुनः बन्द भएका थिए ।


खानीखोलाका आधारभूत विद्यालयहरूले पहिलेकै जसरी १० देखि ४ बजेसम्म नियमित कक्षा सञ्चालन गरेका छन् भने मावि तथा उमाविहरूले बिहानी सत्र तथा दिवा सत्र गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्दै आएको छ । खानीखोलाका विद्यालयमा वैकल्पिक विधिबाट समेत पठनपाठन भएको थिएन ।


महाभारतका विद्यालय असोजदेखि सुचारु


महाभारत गाउँपालिकामा रहेका ५० सामुदायिक विद्यालयमध्ये सबैमा असोजदेखि नै नियमित पढाइ हुँदै आएको ।


गाउँ कार्यपालिका बैठकको निर्णयले दसैंअघि नै विद्यालयमा नियमित पठनपाठन सुरु भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्माले जानकारी दिए ।


त्यसैगरी काभ्रेको चौरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकाका पनि सबै विद्यालय गत ७ मंसिरबाट सञ्चालनमा आएका छन् । विद्यालयहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर पठनपाठनलाई निरन्तरता दिइरहेका हुन् ।