close

तमानखोलाको नर्जामा घरैपिच्छे पानीका धारा

तमानखोलाको नर्जामा घरैपिच्छे पानीका धारा

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङको तमानखोला गाउँपालिका वडा- ६ कि मनकुमारी छन्त्यालले गत वर्षसम्म एक घन्टाको बाटो हिँडेरै खानेपानीको जोहो गर्थिन् । सुक्खा ठाउँ भएकाले हिउँदमा मात्रै होइन, बर्खाको समयसमेत नर्जाखानीमा खानेपानी समस्या थियो ।

 

तमानखोला गाउँपालिकाले दुई वर्षअघि बाग्लुङको सबैभन्दा उचाइमा रहेको नर्जाखानी गाउँमा ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेपछि प्रत्येक घरमा खानेपानीका धारा निर्माण भएका छन् ।

 

धारा मात्रै निर्माण भएका छैनन्, अहिले ती धारामा आउने पानीले नर्जाबासीको दुःखै हरण गरेका छन् । ‘अहिले सुखका दिन आए, यस्तो सजिलो होला भन्ने लागेको थिएन,’ नर्जाखानीकी मनकुमारी छन्त्यालले भनिन्, ‘पहिले बिहानै उठेर एक घन्टा लगाएर खानेपानी ल्याउनुपर्ने बाध्यता थियो । घर-घरमा धारा निर्माण भएपछि भान्सा कोठासम्मै पाइप लैजान सकिने सुविधा पाइयो ।’

 

नर्जामा अहिले बराहकोटबाट पानी ल्याएर ‘एक घर एक धारा’ निर्माण गरिएको छ । नर्जामा खानेपानी पुगेपछि पिउनेखानका लागि मात्र नभएर तरकारीमा सिँचाइ गर्न र पशुचौपायका लागि पनि सहज भएको स्थानीय बताउँछन् ।

 

नर्जाखानीमा पानी ल्याउन तमानखोला गाउँपालिकाले दुई वर्षअघि ३८ लाख रुपैयाँ बजेट खर्चिएको थियो । घर-घरमै धारा पुर्‍याउने योजना सफल भएपछि सहज भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘नर्जाखानी गाउँमा एक सय १४ धारा निर्माण गरिएको छ । दुई सार्वजनिक धारासमेत गाउँको माझ पारेर निर्माण भएका छन्,’ अध्यक्ष बुढाले भने ।


वडा- ६ को भित्रीवनमा गत वर्ष सात लाख र यस वर्ष १३ लाख रुपैयाँ विनियोजन गरी ‘एक घर एक धारा’ अभियान चलिरहेको छ । यस्तै, वडा-६ कै पात्लेमा निरीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष बुढाले बताए । तमानखोलामा प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले एक घर एक धारा अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

 

पालिकासहित, प्रदेश, संघीय सरकार र संघ-संस्थाको सहयोगमा खानेपानी आयोजनाको काम उनले भइरहेको बताए । तमानखोलाका ६० प्रतिशत घरमा धारा निर्माण भइसकेको गाउँपालिकाको तथ्यांक छ ।

 

‘दुई वर्षभित्र गाउँपालिकाका सबै घरमा पानी पुर्‍याउने लक्ष्य छ’, अध्यक्ष बुढाले भने, ‘प्रदेश र संघीय सरकारले समेत तमानखोलामा प्राथमिकताका साथ खानेपानीका योजना निर्माणमा सहयोग रहेको छ ।’