close

बन्दैछ कृषि उपजको ‘जुम्ली ब्रान्ड’ 

बन्दैछ कृषि उपजको ‘जुम्ली ब्रान्ड’ 

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको अर्ग्यानिक कृषि वस्तुको ‘जुम्ला ब्राण्ड’ तयार गर्न थालिएको छ । जुम्ली अर्ग्यानिक कृषि वस्तु झल्काउने लोगो निर्धारण गरी ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको हो । 


नेपाली उपभोक्तामाझ दिन प्रतिदिन जुम्ली अर्ग्यानिक वस्तुको माग बढ्दो छ । तर, अन्य जिल्लामा उत्पादित वस्तुलाई जुम्लाको नाम बेचेर बिक्री भइरहेको पाइएको छ, जसले गर्दा जुम्लाको अग्र्यानिक पहिचान गुम्ने खतरा बढेको छ ।


जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जुम्ली अर्ग्यानिक उत्पादनको बजारीकरण तथा पहिचान कायम राख्न ‘जुम्ला ब्राण्ड’ तयार गर्न लागिएको बताए ।


उनले भने, ‘जुम्ली अर्ग्यानिक वस्तु चिनाउने खालको लोगो निर्धारणका लागि सूचना आह्वान गरेका छौँ । जुम्ला ब्राण्ड तयार भएपश्चात जुम्ली अर्ग्यानिक स्याउ, जुम्लाका सबै कृषि वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पाउनेछन् ।’


स्याउका चाना, कालो रातो, सेतो र माले सिमी, मार्सी चामल, कागुनो र चिनोको चामल, घत, मास, मुगी मास, सेतो भटमास ठूलो, कालो भटमास सानो, फापरको पिठो, लोकल गहुँ, जौ, कोदाको पिठोलगायत दर्जनौँ जुम्ली अर्ग्यानिकक कृषि वस्तुको ब्रान्डिङ गर्ने तयारी भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।


अर्ग्यानिक कृषि वस्तुको पहिचान झल्काउने ‘जुम्ला तथा कर्णाली ब्राण्ड’ लोगो निर्धारणका लागि १५ दिने सूचना जारी भएको छ । कार्यालय प्रमुख देवकोटाका अनुसार १५ दिनभित्र उत्कृष्ट तथा अर्थपूर्ण ‘जुम्ला ब्राण्ड’ झल्काउने लोगो डिजाइनकर्तालाई पुरस्कृतसमेत गरिनेछ ।


‘जुम्ला ब्राण्ड’ तयार नगरेकै कारण अग्र्यानिक वस्तुको बजारीकरणमा चुनौती थियो । जुम्लाको नाम बेचेर राष्ट्रिय बजारमा अन्य जिल्लाको उत्पादन बिक्री हुँदा जुम्ली किसान मारमा परेका छन् । ढिलै भए पनि ‘जुम्ला ब्राण्ड’ तयारीको सुरुवात भएको प्रति अग्र्यानिक वस्तु व्यापारी अर्जुन बुढाले खुसी व्यक्त गरे ।

 

व्यापारी बुढा भन्छन्, ‘जुम्ला ब्राण्ड तयार नहुँदा नपाक्दै स्याउ लिनुपर्ने, चामल, सिमीले बजार नपाउने समस्या थियो । बजारमा बिक्री नहुने चिन्ताले हतारमा जुम्ली उत्पादन बजारमा लगिन्थ्यो ।’ 


बुढाले ‘जुम्ला ब्राण्ड’ तयार भएपछि अग्र्यानिक वस्तुको बजारीकरण ढुक्क भएर गर्न मिल्ने भन्दै खुसी व्यक्त गरे । जुम्लाको अर्ग्यानिक कृषि उत्पादनलाई बजारीकरण गर्न तयार हुन लागेको ‘जुम्ला ब्राण्ड’ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणका लागि टेवा पुर्‍याउने उनको  विश्वास छ ।


अबको एक महिनाभित्र जुम्ली अर्ग्यानिक कृषि वस्तुको पहिचान झल्काउने लोगोसहितको ‘जुम्ला ब्राण्ड’ सार्वजानिक गरिने भएको छ । अहिले बजारका विभिन्न कोसेली घरमा विनाब्राण्डका कृषि उत्पादन बिक्रीका लागि राखिएका छन् ।