close

नमुना पदमार्ग बनाउँदै काठेखोला गाउँपालिका

नमुना पदमार्ग बनाउँदै काठेखोला गाउँपालिका

Trulli
ADVERTISEMENT

बागलुङ - काठेखोला गाउँपालिकाका वडा- ५ र ६ बिहुँमा नमुना पदमार्ग निर्माणको काम थालिएको छ । शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समितिले पदमार्ग निर्माण थालेको हो । पदमार्गको बुधबार गाउँपालिका अध्यक्ष अमर थापा र देवघाटस्थित हरिहर संन्यास आश्रमका पिठाधीश्वर ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे ।


धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरेश्वर महादेवको मन्दिर र प्राचीन बिहुँकोटको पहिचानका लागि पदमार्ग निर्माण थालिएको समितिले जनाएको छ । यहाँ निर्माण हुने पदमार्ग जिल्लाका अन्य पदमार्गहरू भन्दा फरक हुने वडा नं.- ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । 


स्थानीय ढुंगाको प्रयोग गरेर पदमार्ग निर्माण हुनेछ । बालुवा, सिमेन्टको कम प्रयोग र छेउछाउमा रेलिङ बारका लागि मात्र बाह्य बजारबाट ल्याइने सामग्रीको प्रयोग हुनेछ ।

 

यो पदमार्ग निर्माणमा शान्तिचोक शिवालय पदमार्ग निर्माण तथा बिहुँकोट संरक्षण आर्थिक संकलन समिति गठन गरिएको थियो । वैदेशिक रोजगारीमा रहेकाहरूबाट सहयोग संकलन अभियानदेखि अनलाइन भजन प्रतियोगितासमेत समितिले आयोजना गरेको थियो ।


पदमार्ग निर्माणका लागि ३४ लाख रुपैयाँ खर्च हुने लागत स्टिमेट छ । गाउँपालिकाले छ लाख ३४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘समितिले विभिन्न कार्यक्रम संचालन गरेर ७० लाख रुपैयाँ संकलन गरेको छ’, थापाले भने, ‘सोही रकमको केही अंश पदमार्ग निर्माणमा खर्च हुनेछ ।’ धार्मिक पर्यटनका लागि चर्चामा रहेको बिहुँलाई प्रवर्द्धन गर्न पदमार्गले थप सहयोग गर्ने थापाले बताए ।


उपभोक्ता समितिमार्फत निर्माण हुने यस पदमार्गले काठेखोला गाउँपालिकाका दुई वडालाई समेट्नेछ । आगामी छ महिनाभित्र निर्माण सकिने बताइएको छ । बुधबार आयोजना गरिएको कार्यक्रममा पदमार्गको शिलान्यास र अनलाइन भजन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो । 


अध्यक्ष अमर थापाले धार्मिक पर्यटनमार्फत उत्पादनसँग जोडिने योजनामा काठेखोला रहेको बताए । एक वडा, एक पहिचानको कार्यक्रम गाउँपालिकाले ल्याएको र बिहुँमा धार्मिक पर्यटनको प्रवर्द्धन गरिने उनको भनाइ छ ।