close

ज्येष्ठ नागरिकमैत्री बन्दै सिद्धिचरण

ज्येष्ठ नागरिकमैत्री बन्दै सिद्धिचरण

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको सदरमुकाममा पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना भएको छ । सिद्धिचरण नगरपालिकाले केन्द्र स्थापना तथा संचालनमा ल्याएको हो । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा महिला हिंसाविरुद्धको १६ दिने अभियानको दोस्रो दिन सेवा केन्द्र उद्घाटन गरिएको छ ।

 

सिद्धिचरण नगरप्रमुख मोहनकुमार श्रेष्ठले मिलन केन्द्रको उद्घाटन गरे । केन्द्र उद्घाटनसँगै जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको थियो । 

 

नगरपालिकाले केन्द्रमा दुई लाख रुपैयाँ बराबरका सामग्री खरिद गरेर व्यवस्थापन गरेको छ । मिलन केन्द्र समुदाय स्तरमा संचालन हुने र आवश्यक स्रोत व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने नगरप्रमुख श्रेष्ठले बताए । 

 

‘ज्येष्ठ नागरिकका बीचमा मेल गराउने, आपसमा अनुभव तथा सुख-दुःख साटासाट गर्ने तथा स्वास्थ्य हेरचाहका विषयमा सचेतना जगाउने उद्देश्यले केन्द्र स्थापना गरेका हौँ’, नगरप्रमुख श्रेष्ठले भने । 

 

मिलन केन्द्रमा भेला हुने, आफ्ना अनुभव साटासाट गर्ने, हिंसामा परेको विषयमा गुनासा गर्ने तथा त्यस्ता नागरिकलाई मनोपरामर्श दिएर उनीहरूको हेरचाह तथा उपचारमा परिवारका सदस्यलाई सचेत गराउनेलगायत काम हुने संरक्षण विषयगत क्षेत्रकी संयोजक तथा नगरपालिकाकी उपप्रमुख इच्छाकुमारी गुरुङले बताइन् । 

 

नगरपालिकाले १२ वटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र स्थापना तथा संचालन गर्ने नीति लिएको छ । त्यसका लागि ज्येष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र संचालन कार्यविधि, २०७७ समेत जारी गरिएको छ । 

 

कार्यविधिअनुसार केन्द्र संचालन तथा व्यवस्थापन समुदाय स्तरको समितिले गर्ने र स्रोत सुनिश्चितता नगरपालिका एवं समुदायले संयुक्त रुपमा गर्ने व्यवस्था छ । सिद्धिचरण नगरपालिका वडा- १२ मा स्थापना भएको केन्द्रको समिति गठन भएको छ । उक्त समितिले मिलन केन्द्र संचालन गर्नेछ । 


नगरपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, मिलन केन्द्र बनाएर आफ्ना अनुभव सुनाउन प्रोत्साहन गर्ने काम प्रशंसनीय रहेको ज्येष्ठ नागरिक भैरवबहादुर श्रेष्ठले बताए । उनले भने, ‘बूढाबूढीलाई सधैँ यसरी नै सम्मान तथा सहयोगको आवश्यकता छ ।’

 

नगरपालिकाले १२ वटै वडामा पहिलो चरणमा मिलन केन्द्र बनाउने, त्यसपछि आवश्यकता र विशिष्टताका आधारमा केही टोल स्तरमा समेत बनाउने योजना रहेको उपप्रमुख गुरुङले बताइन् ।

 

कामकाजी मान्छे जागिर तथा पेसा व्यवसायमा जाने र ज्येष्ठ नागरिक घरमा एक्लै बस्नुपर्ने, आफ्ना कुरा सुनाउने र हेरचाह गर्ने मान्छे नहुने आदि कारणबाट निराश भइरहने, यसबाट डिप्रेसन हुने सम्भावना बढी देखिएकाले दिवा सेवा केन्द्र भेटघाट चौतारी हुने नगरपालिकाको विश्वास छ ।