close

आलोपालो सेवा दिँदै रुकुमपश्चिम प्रशासन

आलोपालो सेवा दिँदै रुकुमपश्चिम प्रशासन

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम- रुकुमपश्चिम जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढ्दै गएपछि नियमित सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ । प्रशासनले कार्यालयमा सेवाग्रहीको चाप बढेपछि कोरोना नियन्त्रणका लागि सेवा प्रवाहको ढाँचा फेरेको हो । 

 

अब बारअनुसार सेवा प्रवाह हुनेछ । स्थानीय तहअनुसार फरक-फरक बार फरक-फरक स्थानीय तहका लागि सेवा दिइने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जारी गरेको सूचनामा उल्लेख छ ।

 

आइतबार र सोमबार आठबीसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका सेवाग्रहीले मात्र सेवा लिन पाउनेछन् । 

 

त्यस्तै, मंगलबार र बुधबार चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका, बिहीबार र शुक्रबार मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका सेवाग्राहीलाई मात्र सेवा दिइनेछ ।

 

नागरिकताको प्रमाणपत्र, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीलगायतका नियमित सेवा बारअनुसार प्रवाह हुनेछन् । 

 

शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामका लागि सवारी पास, विपद् व्यवस्थापन र अन्य अत्यावश्यक सेवा भने सबै कार्यालय दिनमा नियमित संचालन हुनेछ ।

 

सेवा लिनका लागि तोकिएको व्यवस्थाअनुसार कार्यालयमा उपस्थित हुनुपर्ने र अनिवार्य मास्क लगाउनुपर्ने प्रशासनले जनाएको छ ।  जिल्ला मालपोत कार्यालयले पनि सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ । कोरोना भाइरसको जोखिमलाई लक्षित गर्दै मालपोतले बारअनुसार सेवा प्रवाह गर्ने गरी ढाँचा परिवर्तन गरेको हो । 

 

मालपोतले जिल्ला प्रशासन कार्यालयको मंगलबारको निर्णयबमोजिम बारअनुसार सेवा प्रवाह गर्नेछ । सुरक्षा सतर्कता अपनाएर भीडभाड नहुने गरी यसअघिझैँ सातामा छ दिन कार्यालय खुल्ने तर सेवा प्रवाह भने बारअनुसार हुने कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।
 

परिवर्तित ढाँचाअनुसार अब आइतबार आठबीसकोट, सोमबार चौरजहारी नगरपालिका, मंगलबार सानीभेरी, बुधबार बाँफिकोट, बिहीबार त्रिवेणी गाउँपालिका र शुक्रबार मुसिकोट नगरपालिकाका सेवाग्रहीले मात्र सेवा लिन सक्नेछन् । 

 

‘बिहीबारबाटै नयाँ ढाँचाअनुसार सेवा प्रवाह हुनेछ । जुन पालिकाको पालो पर्छ, त्यसै दिन आए मात्र सेवा दिन्छौँ’, जिल्ला मालपोत कार्यालयका प्रमुख गोर्खबहादुर खड्काले भने ।

 

मुसिकोटका २ वडा सिल


जिल्लाको मुसीकोट नगरपालिका वडा- १ र ५ का विद्यालयहरू बन्द भएका छन् । कोरोना संक्रमणलाई थप फैलिन नदिन वडा- १ का सबै र वडा- ५ का बजार क्षेत्रका विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द भएका हुन् ।

 

मंगलबार मुसिकोटमा १६ जनामा कोरोना पुष्टि भएपछि बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन समितिको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्न गर्ने निर्णय गरेको हो ।

 

वडा- १ का सामुदायिक र संस्थागत गरी १२ तथा वडा- ५ को बजार क्षेत्रको एक सामुदायिक र एक संस्थागत गरी दुई विद्यालय बन्द भएका छन् । 


त्यस्तै, खलंगा र सल्लेबाट छुट्ने सवारी साधन बिहीबारदेखि वडा- ४ को शितलपोखरीबाट छुट्नुपर्नेछ भने बाहिरबाट आउने सवारी साधनलाई शीतलपोखरीमै रोकिनेछ  ।

 

बजार क्षेत्रमा बेलुकी ५ देखि बिहान ८ बजेसम्म मात्र मालवाहक गाडी संचालन हुन पाउने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

 

उनका अनुसार खलंगा र शेरीगाउँलगायत ठाउँका बजार क्षेत्रका पसल बिहान ६ देखि दिउँसो ३ बजेसम्म मात्र खुलाउन पाइनेछ ।

 

‘बैठकबाट बैंक तथा वित्तीय संस्थाहरूमा भीडभाड नहुने गरी सेवा प्रवाह गर्न निर्देशन जारी गर्नुका साथै भीडभाड हुने कार्यालयलाई बारअनुसार सेवा दिन निर्देश गरेका छौँ’, प्रजिअ गैरेले भने ।