close

जग बसेको २० वर्षपछि बल्ल ठडिँदै विद्यालय भवन

जग बसेको २० वर्षपछि बल्ल ठडिँदै विद्यालय भवन

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको जैमिनी नगरपालिका- १ कुश्मीशेरा टारमा रहेको पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयको जग बसाल्ने संस्थापक प्रधानाध्यापक उमाकान्त शर्मालाई सुविधा सम्पन्न भवन बन्ला र विद्यार्थीले सहज वातावरणमा पढ्न पाउलान् भन्ने लागेकै थिएन ।

 

समुदायको सक्रियतामा २०५७ सालमा पातीको बार लगाएर बनाइका भवनबाट विद्यालयले पठनपाठन सुरु गर्‍यो । कठिन परिस्थिति भए पनि समुदायको सक्रियताले ससाना बालबालिका टाढाको बाटो हिँडेर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य गर्न सबै लागे ।

 

देशको राजनीतिक परिस्थिति र समय-समयमा भएका परिवर्तनले यो विद्यालयलाई पनि परिवर्तित बनाइरहेको छ । जैमिनी नगरपालिका- १ कुश्मीशेरा टारमा रहेको यस विद्यालयले पातीको बार हटाएर ढुंगा-माटोको कच्ची भवनमा पढाइ सुरु गरेको १८ वर्षपछि पूर्ण रूपमा पक्की भवनमा पठनपाठनको वातावरण बनाउँदै छ । 

 

विद्यालयमा विभिन्न सरोकारवाला संस्थाको सहयोगमा १२ कोठे पक्की भवन बनेका छन् । बाँकी चार कोठा निर्माणका लागि काम सुरु भएको छ । ‘हिउँद-वर्षामा कच्ची भवनमा पठनपाठन गराउँदाका हाम्रा समस्या अब समाधान हुन्छन्,’ प्रधानाध्यापक टेकनारायण आचार्य भन्छन्, ‘पूर्वाधारमा सम्पन्न भए विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान केन्द्रित गर्न पाउँछ ।’

 

शैक्षिक गुणस्तरको महत्त्वपूर्ण पाटो पूर्वाधार भएकाले विद्यालयले अब कठिन चरण पार गरेको उनको भनाइ छ । विद्यालयले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (शिक्षा)को सहयोगमा चार कोठे पक्की भवन शिलान्यास गरेको छ । भवन शिलान्यास गर्दै नगरप्रमुख इन्द्रराज पौडेलले पूर्वाधारमा भएका समस्या नगरले समाधान गर्ने प्रतिबद्धता जनाए । 

 

‘शैक्षिक वातावरण निर्माण गरेर शिक्षामा गुणस्तर कायम गर्न विद्यालय व्यवस्थापन र शिक्षकहरूको प्रयास रहनुपर्छ । शिक्षामा लगानीका लागि नगरपालिका सधैँ तयार छ’, नगरप्रमुख पौडेलले भने ।

 

७० लाख ४० हजार रुपैयाँको लागतमा निर्माण हुने यो भवन स्थानीय निर्माण व्यवसायीले उपभोक्ता समिति मातहत बनाउनेछन् । भवन आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ । यसअघि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाग्लुङले विद्यालयमा चार, तीन र दुई कोठे पक्की भवन बनाइदिएको छ । 

 

शान्ति मन्त्रालयबाट एक कोठे र तत्कालीन संसद् विकास कोषबाट एक कोठे भवन यसअघि नै बनेका छन् । बाग्लुङ-कुश्मीसेरा सडक स्तरोन्नतिका बेला ड्रिलिपले सामाजिक उत्तरदायित्वअन्तर्गत यही विद्यालयमा एक कोठे पक्की भवन बनाइदिएको छ । 

 

‘अब कच्ची भवन रहेनन् । शौचालय र खेलमैदान पनि तयार छन्’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ शर्माले भने, ‘अभिभावक र समितिको ध्यानसमेत शैक्षिक गुणस्तरमा केन्द्रित हुनेछ ।’ 

 

जैमिनीमा दरबन्दी कम रहेर पनि शैक्षिक उपलब्धि देखाउन सक्ने विद्यालयमा पल्लोपाखा पर्छ । ‘निजी छाडेर यहाँ विद्यार्थी पढ्नका लागि आउने गरेका छन्’, शर्मा भन्छन्, ‘हामी भौतिक सुविधासम्पन्न वातावरणमा पठनपाठन गराउने तयारीमा छौँ ।’ विद्यालमा तारबार, रंगरोगनमा नगरपालिकाले सहयोग गर्दै आएको छ ।