close

बाग्लुङका नगरपालिकाहरूको हरिविजोग: न योजना सम्झौता गर्छन्, न त बेलैमा काम नै

बाग्लुङका नगरपालिकाहरूको हरिविजोग: न योजना सम्झौता गर्छन्, न त बेलैमा काम नै

Trulli
ADVERTISEMENT

बाग्लुङ- विकास निर्माणका योजना सम्झौता र कार्यान्वयनमा बाग्लुङका नगरपालिकाहरू पछाडि देखिएका छन् । समयमा योजना सम्झौता नगर्ने, स्टिमेट नसक्ने र काम ढिला थालेर अलपत्र पार्नेमा नगरपालिकाहरू अगाडि देखिएका हुन् । 

 

बाग्लुङ नगरपालिकाको कार्यपालिका बैठक तीन महिनापछि बुधबार सम्पन्न हुँदा सदरमुकामकै नगरपालिका सबैभन्दा पछि परेको टिप्पणीसमेत भएको सहभागीले बताए ।

 

चालू आर्थिक वर्षको चार महिनासम्म नगरपालिकाले गरेको कामबाट जनता पनि सन्तुष्ट छैनन् । चार महिनासम्म न योजना सम्झौता भए, न त विकास बजेट खर्चिने कुनै कार्यक्रम नै आए । 

 

रातो किताब सार्वजनिक गर्न पनि तीन महिना खर्चेको नगरपालिकाले सार्वजनिक सुनुवाइ, समयमा योजना सम्झौता र कार्यान्वयनमा ध्यान नदिएको उपभोक्ता समितिका सदस्यहरू नै बताउँछन् ।

 

नगर तथा गाउँपरिषद्‌बाट पारित नीति तथा कार्यक्रम र बजेटको गतिविधि सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधानमा बाग्लुङ नगरपालिका मात्र होइन, जिल्लाका सबै नगरपालिका चुकेका छन् । तुलनात्मक रूपमा गाउँपालिकाहरू बढी सक्रिय देखिएका छन् ।

 

नेपालको संविधान, २०७२ को धारा २२९ र स्थानीय सरकार संचालन ऐनको दफा ६९ ले संचित कोषको संचालन, व्यवस्थापन र प्रतिवेदन प्रणालीमा एकरूपता कायम गराउन समयमै रातो किताब प्रकाशन गर्नुपर्ने प्रावधान राखेको छ । तर, पुस्तक प्रकाशनमा ढिलो गर्ने र समयमा योजना सम्झौता नगर्ने प्रवृत्ति बर्सेनि बढेको छ । 

 

नगरपालिकाहरू पारदर्शीसमेत छैनन् । बाग्लुङका चारवटै नगरपालिकाले गत आर्थिक वर्ष एउटा पनि सार्वजनिक सुनुवाइ गरेनन् । चालू वर्षका लागि भने योजना सम्झौता भएका छैनन् ।

 

गत आर्थिक वर्ष ढोरपाटन नगरपालिकाले किताब प्रकाशन नगरेरै समय बितायो । चालू वर्ष पनि तयारी छैन । सदरमुकाम रहेको बाग्लुङ नगरपालिका र जैमिनीले मंसिर आधाउधी हुँदा पनि योजना सम्झौता गरेका छैनन् । अन्य पालिकामा छिटफुट सम्झौता थालिएका छन् ।


 
चालू वर्ष गर्नुपर्ने योजना झन्डै ५०० भन्दा बढी भए पनि बाग्लुङ नगरपालिकाले अझै योजना सम्झौता थालेको छैन । योजना शाखाका कर्मचारीले दुई-चारवटा सम्झौता भएको बताए । 

 

जैमिनीमा ४२० मध्ये दुईवटा ठेक्कामा दिएका योजना मात्र सम्झौता भएका छन् । एक करोड २० लाख रुपैयाँको विपन्न बस्ती निर्माण र दुई करोड रुपैयाँको जैमिनीधाम-कुश्मीसेरा सडक स्तरोन्नतिको ठेक्का लगाइएको हो । 

 

नगरपालिकाहरूले ती योजनाको स्टिमेट पनि सकेका छैनन् । बाग्लुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले काममा ढिलाइ हुँदा यस्तो देखिएको बताए ।

 

‘म भर्खरै सरुवा भएर आएको हुँ । यसअघि कहिले कोरोना, कहिले वर्षात्को बहानामा काम नभएको पाइयो’,  रिजालले भने, ‘अब बल्ल प्रक्रिया थालेको छु ।’ रातो किताब भर्खरै छापिएकाले बल्ल काम सुरु हुने उनले जानकारी दिए ।

 

सम्झौता ढिला हुँदा समयमा काम नसकिने समस्या सुल्झाउन रिजालले वडा तहमै पुगेर योजना सम्झौता गर्ने तयारी भइरहेको दाबी गरे ।

 

‘एक-दुई सातामा वडाभरिका सबै योजनाको स्टिमेट बनाउने, त्यसपछि वडा कार्यालयमै पुगेर एकै दिन सम्झौता गर्ने भनेका छौँ’, रिजालले भने, ‘अब कामले गति लिन्छ ।’ सबै योजनामा उपभोक्ता समिति गठन गरिसक्न वडा अध्यक्षलाई फोनमार्फत आग्रह गरिएको उनले बताए ।

 

जैमिनी नगरपालिकाका योजना अधिकृत प्रेम सापकोटाले दशैँ-तिहारसम्म बजेट घट्न सक्ने देखिएकाले सम्झौता रोकिएको जानकारी दिए । ‘कोरोनाको कारणले बजेट घट्न सक्ने भएकाले सम्झौता गर्न नसकेको हो’, उनले भने, ‘अब धमाधम काम हुन्छ ।’

 

बजेट घट्न सक्ने आशंका गरे पनि नगरपालिकाले स्टिमेटसमेत गरेको छैन बरु ठेक्कामा दिने दुई योजना भने सम्झौता भएको छ । 

 

गलकोट नगरपालिकाले ४०० मध्ये २५ प्रतिशत सम्झौता गरिसकेको योजना अधिकृत तुलबहादुर विकले बताए । बाग्लुङका छ  गाउँपालिकाले भने दशैँदेखि नै योजना सम्झौता थालेका थिए । 

 

बाग्लुङ नगरपालिकामा असार मसान्तमा सम्झौता गरेर बर्खामा काम गर्ने प्रवृत्ति बढी छ । अघिल्लो वर्षको कार्यक्रमअन्तर्गत बाग्लुङ बजारमा मुख्य चोक सुधारको काम अझै सकिएको छैन । 

 

ट्राफिक चोक, समीक्षालय चोक, हल्लन चोक, शिवधारा चोकलगायतका दर्जन योजना अझै अलपत्र छन् ।