close

नगरबासीकाे स्वास्थ्यप्रति सचेत बन्दै अर्जुनधारा

नगरबासीकाे स्वास्थ्यप्रति सचेत बन्दै अर्जुनधारा

Trulli
ADVERTISEMENT

झापा- झापाको अर्जुनधारा नगरपालिकाले नगरको प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा र कानको उपचार सुरु गरेको छ । नगरबासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले आँखा तथा कानको उपचार सुरु गरिएको नगरपालिकाले जानकारी दिएको हो ।


प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गर्दै नगरले दुई महिनाअघि १५ शय्याको अस्पताल स्थापना गरेको थियो । अस्पतालको स्तरोन्नति गर्ने क्रममा आँखा र कानको उपचार सेवा पनि सुरु गरिएको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए  ।

 

‘भिजन- २०२० लक्ष्यअनुसार शनिश्चरे अस्पतालमा आँखा तथा कानको उपचार सेवा सुरु गरिएको हो । अस्पतालको स्तर वृद्धि गरेर नगरबासीलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउने योजना छ’, अध्यक्ष रानाले भने ।

 

अर्जुनधाराको आयोजना र मेची दृष्टि आँखा अस्पतालको सहकार्यमा आँखा तथा कानको उपचार सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनको ‘अन्धा उन्मूलन- २०२०’ को लक्ष्य प्राप्तिमा सघाउ पुर्‍याउने उद्देश्यले अर्जुनधाराको शनिश्चरे अस्पतालमा आँखा तथा कानको उपचार सेवा सुचारु गरिएको नगरपालिकाले बताएको छ ।

 

गरिब र असहाय नगरबासीलाई रकम  अभावमा उपचारबाट बञ्चित हुन नपरोस् भनेर मेची दृष्टि आँखा अस्पतालको साझेदारीमा निःशुल्क सेवा प्रवाह गरिएको हो ।

 

नगरको स्वास्थ्य चौकीलाई स्तर वृद्धि गरेर बनाइएको अस्पतालले २४ घन्टे आकस्मिक सेवा, आमा सुरक्षा कार्यक्रम, भिडियो एक्सरे, एक्सरे, ल्याब, इसीजी, ओपीडी र स्वास्थ्य बीमालगायत सेवा प्रदान गर्दै आएको छ ।

 

दृष्टि अस्पतालका मेडिकल डाइरेक्टर शेषकान्त अर्याल स्थानीय नागरिकले आँखा तथा कानको उपचार स्वास्थ्य बीमाबाट पनि गर्न सक्ने बताउँछन् ।