close

उपल्लो मुस्ताङमा सोलार बिजुली बाँड्दै गण्डकी प्रदेश सरकार

उपल्लो मुस्ताङमा सोलार बिजुली बाँड्दै गण्डकी प्रदेश सरकार

Trulli
ADVERTISEMENT

मुस्ताङ- गण्डकी प्रदेशले उपल्लो मुस्ताङको स्थानीय तहमा सोलार प्यानल वितरण गरेको छ । 'गण्डकीले उज्यालो प्रदेश' कार्यक्रमअन्तर्गत उपल्लो मुस्ताङमा नवीकरणीय सौर्य ऊर्जा सोलार प्यानल वितरण गरेर जडानसमेत गरिदिनेछ ।


गण्डकी प्रदेश सरकारको ७५  प्रतिशत विशेष अनुदान र स्थानीयको २५ प्रतिशत लगानी रहने गरी उपल्लो मुस्ताङको स्थानीय तहमा सोलार प्यानल वितरण गरिएको हो ।

 

प्रदेश सरकारले राष्ट्रिय प्रसारण लाइनको पहुँच नपुगेका स्थानमा गत आर्थिक वर्षमै सौर्य ऊर्जा सोलार प्यानल वितरणका लागि बजेट विनियोजन गरे पनि कोरोना महामारीका कारण प्रभावित बनेको थियो ।

 

उज्यालो प्रदेश कार्यक्रमअन्तर्गत उपल्लो मुस्ताङका दुई स्थानीय तहका विभिन्न वडामा ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण भइरहेको गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले जानकारी दिए ।

 

‘उपल्लो मुस्ताङमा राष्ट्रिय प्रसारण लाइनको पहुँच नभएकाले प्रदेशले सोलार प्यानल वितरण गरेको हो । बिजुली नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य थिए । सोलार वितरणपछि उनीहरूलाई सहज हुनेछ’, प्रदेश सांसद विष्टले भने ।

 

प्रदेश सरकारले मुस्ताङमा राष्ट्रिय प्रसारण लाइन नजोडिएका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न वडामा सोलार प्यानल वितरण तथा जडानका लागि रोशनी इन्स्टिच्युट कम्पनीलाई जिम्मा दिइएकाले प्रतिनिधिका रुपमा  काम गर्न यहाँ आएको प्राविधिक कमानसिंह गुरुङले बताए ।

 

‘अत्यधिक चिसो मौसम भए पनि उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डका करिब ४०० भन्दा बढी घरधुरीलाई सोलार प्यानल वितरण तथा जडानमा खटिएका छौँ', गुरुङले भने ।

 

उपल्लो मुस्ताङमा बिजुली नहुँदा स्थानीय बत्ती बाल्नदेखि टेलिभिजन हेर्नसम्म बञ्चित हुँदै आएका थिए । प्रदेश सरकारले मुस्ताङमा १८ हजार रुपैयाँ मूल्यको सोलार प्यानल, ब्याट्री, सोलार वायर र बल्ब उपलब्ध गराएको हो ।

 

चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटअनुसार राष्ट्रिय प्रसारण लाइन नजोडिएका मुस्ताङसहित गोरखा, मनाङ र म्याग्दीका सात स्थानीय तहमा करिब एक हजार १६० घरधुरीलाई ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण गर्ने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।