close

बाजुरामा एक हजार खरका छाना विस्थापित गरिँदै

बाजुरामा एक हजार खरका छाना विस्थापित गरिँदै

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरा जिल्लामा संघीय सरकारले यहाँका स्थानीयका एक हजार १२ घर पुनर्निर्माण गरी खरको छाना विस्थापन गर्ने भएका छन् । यस आर्थिक वर्षमा संघीय सरकार शहरी विकास मन्त्रालयको योजनाअनुसार बाजुराका खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने प्रतिनिधिसभाका सांसद लालबहादुर थापाले बताए ।


आर्थिक अवस्था कमजोर भएर खर वा फुसका प्रयोग गरेका घरलाई विस्थापन गरेर जस्तापाता लगाउने गरी सघन शहरी तथा भवन निर्माण इकाई डोटीले काम सुरु गर्ने भएको छ । खरले छाएको घरमा आगलागीलगायतका विपद् हुने भएकाले बाजुरामा जस्तापाता लगाउने गरी गरिब, असहायलगायतका विपन्न नागरिकका घर पुनर्निर्माण हुने सांसद थापाले बताए ।


पहिलो चरणमा ज्येष्ठ नागरिक, एकल महिला, अपांग, अतिविपन्न लक्षित वर्गको निर्माण गरिने सघन शहरी तथा भवन निर्माण इकाई प्रमुख दीपक श्रेष्ठले बताए । कुन ठाउँबाट सुरु गर्ने कहाँ घर निर्माण गर्ने अध्ययन गरेर जिल्लामा सर्वपक्षीय बैठकमार्फत चाँडै काम अगाडि बढाउने उनले जानकारी दिए ।

 
बाजुरामा जिल्लामा ३५ प्रतिशतभन्दा बढी घरघरले छाएको पाइएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारले खरले छाएको घर पुनर्निर्माण गर्न समस्या देखिएको छ । खरले छाएको घरमा प्रत्येक वर्षमा घर बदलिइरहनुपर्ने बाध्यता रहँदै आएको छ । आगो लाग्ने पानी पर्दा चुहिने, हावाले पनि सहजै उडाउने गरेको पाइएको छ । खरले छाएको घरमा जस्तापाता सरकारले बनाइदिने भएपछि स्थानीय खुसी भएका छन् ।


प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने आर्थिक अवस्था कमजोर भएका परिवार, जसले घरको छाना खरले छाएका छन्, उनीहरूका लागि जस्तापाता दिँदा ठूलो सहयोग हुने बताए । बाजुरा जस्ता दुर्गम जिल्लामा यो अतिआवश्यक पनि रहेको पनि बताए ।