close

दूधकोसी जलविद्युतको काम सुरु

दूधकोसी जलविद्युतको काम सुरु

Trulli
ADVERTISEMENT

खोटाङ- ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आईई)को काम सुरु गरिएको छ ।


खोटाङको रावाबेँसी गाउँपालिका- ३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका- ६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको ४०० केभी डबल सर्किट प्रसारण लाइनको आईईको काम सुरु गरिएको हो ।


दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजनास्थलदेखि धनुषाको ढल्केबरसम्मको करिब १०२ किलोमिटर दूरीमा डबल सर्किट प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षणको काम सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । करिब छ महिनाभित्र पूरा गर्ने गरी इटालीको ईएलसी इलेक्ट्रोकन्सल्टले आयोजनाको सर्किट प्रसारण लाइनको आईईको काम थालेको हो ।


आयोजनास्थल ओखलढुंगाको भदौरेदेखि धितुङ-जयराम-हिलेपानी-घुर्मी-कटारी-सिन्धुली हुँदै ढल्केबर जोड्ने प्रसारण लाइनका कारण भौतिक, सामाजिक, आर्थिक, वातावरणीयलगायतका क्षेत्रमा पुग्ने असर र प्रभावका बारेमा अध्ययन सुरु गरिएको ईएलसी इलेक्ट्रोकन्सल्टका आईई फिल्ड कोअर्डिनेटर नितेश खड्काले बताए ।


दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनालाई ४०० केभी डबल सर्किट प्रसारण लाइनबाट दूधकोसी स्विच यार्डदेखि सुनकोसी स्विच यार्ड हुँदै ढल्केबर स्टेसनमा जोड्ने तयारी छ ।


आईईका क्रममा प्रत्यक्ष प्रभावित क्षेत्र मानिने टावर र तारको दायाँ-बायाँ २३÷२३ मिटर तथा अप्रत्यक्ष प्रभावित क्षेत्र मानिने दायाँ-बायाँ पाँच÷पाँच सय मिटर क्षेत्रमा भएका घर, बस्ती, खेतीयोग्य जमिन, वनजंगल, पहिरोलगायतको अवस्था तथा तिनलाई पर्ने असरका बारेमा ‘स्याम्पल सर्भे’ सुरु गरिएको हो ।


२३ कात्तिकदेखि तालिम दिइएका १० जना स्थानीय सर्भेक्षणकर्तालाई तिहारपछि आईईको सर्भेक्षणका काममा खटाइएको फिल्ड कोअर्डिनेटर खड्काले बताए । आईईको प्रारम्भिक रिपोर्टकै आधारमा प्रत्यक्ष प्रभावित तथा अप्रत्यक्ष प्रभावित क्षेत्रमा मुआब्जादेखि पुनर्वासका काम हुनेछन् ।


‘सर्किट प्रसारण लाइनको रुटमा कस्तो वस्ती छ, ककसको कस्ता खालका जग्गा छन्, रुटमा पहिरो छन् कि, कस्ता खालका वन छन्, कसैको करेसाबारी वा बगैँचा पर्छ कि भनेर स्याम्पल लिने काम भइरहेको छ’, फिल्ड कोअर्डिनेटर खड्काले भने, ‘यसबाट प्रसारण लाइनको रुटमा पर्ने टावर र तारको आसपासमा केके पर्छ, भौतिक रूपमा केके छन्, केलाई कस्तो असर पुग्छ, कति क्षति हुन्छ, भौतिक, जैविक, सामाजिक वातावरण कस्तो छ, आर्थिक हैसियत के छ भन्ने जानकारी लिन सकिन्छ ।’


आईईको काम सुरु गर्नका लागि ईएलसी इलेक्ट्रोकन्सल्टका टोली प्रमुख अजय माथेमा, एडीबीका इन्भाइरोन्मेन्ट एक्स्पर्ट कन्सल्टेन्ट रेशम बानियाँ, सोसल एक्स्पर्ट कन्सल्टेन्ट बमबहादुर थापा, आईईका फिल्ड कोअर्डिनेटर खड्का, स्टडी टिम मेम्बर सुभूति घिमिरेलगायतको टोली आयोजनस्थल आएका थिए ।


लामीडाँडाको रँभुवा बजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढिरहेको छ ।


भ्याटसहित करिब २.२ विलियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको बताइएको छ । सन् १९८५ मा जाइकाले नेपालको छवटा जलाशययुक्त आयोजनामध्ये आकर्षक आयोजनाका रूपमा पहिचान गरेको तथा सन् २०१३ मा जाइकाले नै दोस्रो पटक अध्ययन गर्दा १० वटा जलाशययुक्त आयोजनामध्ये एक नम्बरमा छानेको आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने प्राधिकरणले जनाएको छ ।


जलविद्युत आयोजनाका लागि बाँध हाल्दा खोटाङको ३४ लाख २२ हजार ६०३ वर्गमिटर, ओखलढुंगाको ३५ लाख १२ हजार ३२२ वर्ग मिटर र सोलुखुम्बूको एक लाख ७१ हजार चार वर्ग मिटर जमिन प्रभावित हुँदा खोटाङका ६५७ धुरी, ओखलढुंगाका २७९ धुरी र सोलुखुम्बूका १४ धुरी गरी कुल एक हजार १५० घर धुरी डुबानबाट प्रभावित हुने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा देखिएको छ ।

 

पूर्ण प्रभावित १६२ घरपरिवारमध्ये खोटाङका ८१, ओखलढुंगाका २५ र सोलुखुम्बूका दुई घर पूर्ण रूपमा डुबानमा पर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आयोजनाका लागि ड्याम बनाउँदा दूधकोसीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने प्रतिवेदनमा भनिएको छ ।