close

रामेछापमा गरिएकाे प्याराग्लाइडिङ उडानको परीक्षण सफल

रामेछापमा गरिएकाे प्याराग्लाइडिङ उडानको परीक्षण सफल

Trulli
ADVERTISEMENT

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा- ९ पुरानगाउँमा रहेको थानापति महादेव मन्दिरबाट गरिएको प्याराग्लाइडिङ परीक्षण सफल भएको छ ।


वडा कार्यालयको आर्थिक सहयोगमा परीक्षणका लागि पहिलो पटक उडाइएको प्याराग्लाइडिङको परीक्षण सफल भएको हो । 


मन्थली नगरपालिका वडा- ९ पुरानागाउँका वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगरका अनुसार बिहीबार दिउँसो थानापति महादेव मन्दिरको डाँडाबाट उडाइएको प्याराग्लाइडिङ सोही गाउँको फोस्र देवीथानमुनि चालिसेमा गएर सफल अवतरण भएको छ । 

 

दुई पटक उडाइएको प्याराग्लाइडिङको सफल अवतरणपछि भविष्यमा यस ठाउँबाट व्यावसायिक रूपमै चलाउन सकिने देखिएको वडा अध्यक्ष पुलामी मगरले बताए । 


‘पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन गर्न मन्थली नगरपालिकामै उडाइएको प्याराग्लाइडिङको पहिलो परीक्षण  सफल भएको छ’, वडा अध्यक्ष पुलामी मगरले भने, ‘यही उडानबाट तयार पारिएको विस्तृत रिपोर्टका आधारमा चाँडै व्यावसायिक उडान सुरु गर्छौं । यसले वडाको आर्थिक समृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा छ ।’

 

थानापति महादेवको दर्शन गर्न आउने तीर्थालुले प्याराग्लाइडिङको सेवा  लिन सक्ने गरी योजना बनाइने उनले बताए । यसले मन्दिरको प्रचार-प्रसार हुनुका साथै आन्तरिक आयआर्जनमा समेत सहयोग पुग्ने उनको दाबी छ ।


स्थानीय सरकारकै सहयोगमा सवारी साधन पुग्ने र पैदलयात्राबाट समेत यात्रा गर्न सकिने बाटो बनेको थानापति महादेव मन्दिर विकासका लागि संघीय र प्रदेश सरकारले सहयोग नगरे पनि वडाकै नेतृत्वले विकास गर्ने वडा अध्यक्ष पुलामी मगरले जानकारी दिए । 


प्याराग्लाइडिङ पाइलट गोविन्द गुरुङ र लक्ष्मणरत्न शाक्यका अनुसार थानापति डांँडाबाट उडेको प्याराग्लाइडिङ सात ठाउँमा अवतरण गर्न सकिने स्थान देखिएकाले ती स्थानलाई आधार मानेर थप रिपोर्ट बनाउन सहज हुनेछ ।