close

ककनीको कहरः १० वर्षमा सडक पुग्यो, कहिले बल्छ बिजुली ?

ककनीको कहरः १० वर्षमा सडक पुग्यो, कहिले बल्छ बिजुली ?

Trulli
ADVERTISEMENT

ओखलढुंगा- हालको सुनकोसी गाउँपालिका वडा नं. ९ र १० साविकको कटुञ्जे गाविस थियो । संघीयतापछि दुई वडामा विभाजन भएको कटुञ्जेस्थित कोषभञ्ज्याङसम्म सडक पुगेको १० वर्ष भयो । यो घोराखोरी-ओखलढुंगा सडकको मध्यभागमा पर्छ । कोषभञ्ज्याङबाट उत्तरपूर्वमा करिब १० किलोमिटर टाढा पर्छ ककनी गाउँ ।


यो सुन्दर र पर्यटकलाई आकर्षण गर्ने गाउँ हो । तर, यसका कथा व्यथा धेरै छन् । २०७२ सालको भूकम्पमा यस गाउँका ३०० भन्दा बढी घर ढले । अधिकांश ककनीबासी घरबारविहीन भए । बल्ततल्ल भूकम्पका दुई कोठे घर त ठड्याएका छन् तर ती घरमा दुई-तीन जना परिवारका सदस्य भएका परिवारबाहेक संयुक्त परिवारका लागि बस्न समस्या हुन्छन् ।


यहाँको मुख्य बाली आलु हो । आलु थन्क्याउन उनीहरूलाई सानो घरैका कारण समस्या हुन्छ । गाउँका प्रायः सबै युवा र पुरुष विदेशमा छन् । गाउँमा स्वास्थ्य चौकी छैन । अस्थायी स्वास्थ्य इकाई त राखिएको छ, तर त्यहाँ भनेको बेला सिटामोल हुँदैन । बिरामी पर्दा घरेलु औषधि, धामीकै भर पर्नुपर्ने बाध्यता छ ।  


हिजोसम्म चार घण्टा भीरको बाटो हिँडेपछि बल्ल कोषहाट आइपुगिथ्यो । कोषहाटमा दशकअघि नै बस गुडेको देखेका स्थानीयले अहिले भने गाउँमै साना जीप पुगेको देखे । सुनकोसी गाउँपालिका- ९ को पहलमा सात किलोमिटर सडक निर्माण गरेर केर्मेटार हुँदै दोभानसम्म सडक पुगेको छ अहिले ।

 

वडाको पाँच लाख र पूर्वाधार साझेदारी कार्यक्रमको १० लाख रुपैयाँसहित थप १० लाख रुपैयाँ ऋणमा सडक निर्माण भएको वडा अध्यक्ष झनककुमार कार्कीले बताए । विकासको पूर्वाधारको नाममा यस गाउँमा बल्ल कच्ची सडक पुगेको हो ।


आधारभूत तहसम्मको विद्यालय संचालनमा छ । माध्यमिक तहको शिक्षा लिन कोठा भाडा नै लिएर गाउँपालिका केन्द्र मूलखर्क बस्नुपर्दा गरिब र निमुखाले बालबच्चा पठाउन सक्दैनन् । अधिकांश कक्षा ५ सम्म पढेर छाड्ने, विदेश जाने अथवा विवाह गर्ने परम्परा बनेको छ यहाँ ।

 

संघीयता आएको तीन वर्षमा वडा कार्यालयले बल्ल सडक त पुर्‍याएको छ । यो गाउँका नागरिक अझै अन्धकारमा बस्न बाध्य छन् । बिजुली बत्ती बाल्ने उनीहरूको सपना कहिले पूरा होला भन्ने अनुमान मात्र गर्न सकिन्छ । स्थानीय रामु तामाङ भन्छन्, ‘यहाँ सरकारको आँखै हत्तपत्त पुग्दैन, वडाले बल्ल बाटोको सुरुवात गरेको छ ।’


गाउँपालिकाले ग्रामीण विद्युतीकरणका लागि पालिकास्तरीय योजना सुरु गरेपछि यो गाउँ त्यसमा जोडिन सकेको छैन । वडा अध्यक्ष कार्की भन्छन्, ‘मेरो कार्यकालमा बिजुली बाल्ने बाचा गरेको थिएँ, पूरा गराउन सक्छु कि !’


उनको भनाइबाटै यस गाउँमा बिजुली बल्न फलामकै चिउरा चपाउनुपर्नेछ । कोषहाटसम्म विद्युत विस्तार हुन सकेको छैन । भीरको बाटो हुँदै करिव १० किलोमिटर टाढा रहेको यो गाउँ पुगिन्छ । यही विकटताले यहाँको सामाजिक, आर्थिक र पूर्वाधारको विकासमा निकै चुनौती छ ।


संभावा नै संभावनाको गाउँ


ककनी गाउँबाट एक घण्टाको उकालो हिँडेपछि चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र चम्पादेवी ककनी मन्दिर पुगिन्छ । त्यहाँ दर्शन गर्न हजारौँ दर्शनार्थी आउँछन् । सकड, बिजुली, स्वास्थ्य सेवा पुर्‍याएर होमस्टे गाउँका रूपमा विकास गर्न सकेमा ककनी मन्दिर आउने दर्शनार्थी राख्न सकिन्छ ।


यस्तै, ककनी गाउँ तल तीन तल्ले झरना छ । यसको प्रचार प्रसार गर्न सके पर्यटक आकर्षित गर्न सकिन्छ  । धार्मिक तथा प्राकृतिक हिसाबले चर्चामा रहेको यस क्षेत्रको पूर्वाधारको विकास गरे पर्यटन प्रबद्र्धन गरेर आयआर्जनमा वृद्धि गर्न सकिन्छ । यसको विकासका लागि बृहत् गुरुयोजना आवश्यक रहेको सांसद यज्ञराज सुनुवार बताउँछन् । पर्यटकीय गाउँ बनाउन पालिकाले बृहत् गुरु योजना निर्माण गरेर संघ र प्रदेश सरकारसँगको स्रोत साझेदारीमा विकास गर्न सकिने उनले बताए ।