close

पर्या-पर्यटन संचालन गर्दै नमोबुद्ध

पर्या-पर्यटन संचालन गर्दै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकामा विपद् जोखिम पर्या-पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन हुने भएको छ । वातावरण तथा बाल सरोकार संस्था नेपाल (इको नेपाल) र नमोबुद्धको साझेदारीमा ‘नेपालमा विपद् जोखिम संवेदनशील पर्या-पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँग साझेदारी परियोजना’ संचालन हुन लागेको हो । 

 

नमोबुद्धसहित धुलिखेल, पनौती, बल्थली, नगरकोट र चाँगुनारायणमा यो कार्यक्रम संचालन हुँदै छ । उक्त कार्यक्रमबाट यी क्षेत्रको पर्यटनको विस्तृत परियोजना प्रतिवेदन तयार गरिनुका साथै सम्भावित २४ ठाउँमा पर्यटन प्रवर्द्धनसम्बन्धी सूचनापाटी राखिनेछ ।

 

यस्तै, २४ जनालाई यसबारे अभिमुखीकरण गर्ने र राष्ट्रिय स्तरको कार्यशाला गोष्ठी गरी पर्यटनको प्रचार एवं प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । परियोजना संचालनका लागि सरोकारवालाबीचको बैठक नगरपालिकामा सम्पन्न भएको छ  ।

 

बैठकले नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको संयोजकत्वमा पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ । बैठकमा नेपाल सरकारका पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदी पनि उपस्थित थिए ।

 

समितिको सहसंयोजकमा उपप्रमुख रामदेवी तामाङ तथा सदस्यहरूमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईं, कार्यक्रम लागू हुने वडा- १ का अध्यक्ष कर्मग्याल्बो लामा, वडा- १० का अध्यक्ष रामकृष्ण उपाध्याय, वडा- ११ का अध्यक्ष कृष्णवहादुर तामाङ, जिल्ला समन्वय समिति सदस्य कृष्णबहादुर तामाङ, इन्जिनियर उज्ज्वल अर्याल रहेका छन् ।

 

यस्तै, नगर कार्यपालिका सदस्य श्वेता लामा, नगरसभा सदस्य कल्पना सत्याल, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष वसुनारायण श्रेष्ठ, पर्यटन व्यवसायीबाट संस्कृति फार्मका कार्यकारी निर्देशक श्रीकृष्ण धिताल, नमोबुद्ध क्षेत्र विकास समितिका अध्यक्ष, भकुन्डेबेँसी जेसिजका प्रतिनिधि, इलाका वन कार्यालय डराउनेपोखरीका प्रमुख समितिको सदस्य रहेका छन् । नमोबुद्धका वातावरण अधिकृत सन्तोष काफ्लेलाई सदस्यसचिव तोकिएको छ । 

 

बैठकमा इको नेपालका सल्लाहकारसमेत रहेका पूर्व मुख्यसचिव सुवेदीले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सहकार्यको सुरुवात भएकाले नमोबुद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजना बनाउन आग्रह गरे ।