close

नायगाडमा पालिका अस्पताल

नायगाडमा पालिका अस्पताल

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– सिस्ने गाउँपालिका– २ नायगाडमा पालिका अस्पताल बन्ने भएको छ । सिस्ने गाउँ कार्यपालिकाको निर्णयअनुसार सिस्ने– २ नायगाडमा पाँच शय्याको पालिका अस्पताल बन्न लागेको हो ।


संघीय सरकारको आर्थिक सहयोगमा सिस्ने गाउँपालिकामार्फत नायगाडमा अस्पताल बन्ने भएको छ । अस्पतालमा एमबीबीएस डाक्टरसहितका स्वास्थ्यकर्मीले सेवा दिनेछन् । स्वास्थ्य चौकी नायगाड रहेको ठाउँमै अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) काम भइरहेको छ भने आवश्यक पर्ने अरू संरचनाको निर्माणका काम पनि थालिएको छ ।


अस्पताल निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारबाट ७० लाख रुपैयाँ प्राप्त भएको वडा अध्यक्ष जीवन केसीले जानकारी दिए । सोही रकमबाट भवन निर्माणका लागि आवश्यक ठाउँको व्यवस्थापन तथा डीपीआर तयार गरिनेछ । त्यसका लागि कामसमेत सुरु गरिसकेको उनले बताए ।


गाउँपालिकाले आह्वान गर्ने ठेक्कामार्फत अस्पताल निर्माणको काम हुने जनाइएको छ । तत्काललाई पाँच शय्याको अस्पताल भवन निर्माण हुनेछ । अस्पताल निर्माणका लागि कम्तीमा नौ रोपनी जग्गा आवश्यक पर्छ, जसअनुसार पहिल्यै पाँच रोपनी बढी जग्गा रहेको र अपुग जग्गा व्यवस्था गरिने वडा अध्यक्ष केसीले बताए ।


नायगाड स्वास्थ्य चौकीको नयाँ भवन रहेकाले यसले अस्पताल निर्माण प्रक्रियालाई थप सजिलो बनाएको छ । एक गाउँपालिकामा बन्ने एक पालिका अस्पताल सिस्ने गाउँपालिकाले नायगाडमा बनाउने निर्णय गरेको थियो ।


कार्यपालिका बैठकले नायगाडमा अस्पताल बनाउने निर्णय गरेपछि काम सुरु गरिएको कार्यपालिका प्रवक्तासमेत रहेका वडा अध्यक्ष केसीले जानकारी दिए । आगामी आर्थिक वर्षमा आउने थप बजेटबाट अस्पताल निर्माणले पूर्णता पाउनेछ । अस्पताल निर्माणको शिलान्यास १५ मंसिरभित्रै गर्ने तयारी गरिएको छ ।