close

अख्तियारमा स्थानीय तहका उजुरीको चाङ, अधिकांश लेनदेनका

अख्तियारमा स्थानीय तहका उजुरीको चाङ, अधिकांश लेनदेनका

Trulli
ADVERTISEMENT

 

 

चन्द्रकान्त खनाल
रुपन्देही– रुपन्देहीको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा स्थानीय तहसँग सम्बन्धित सबैभन्दा धेरै उजुरी परेको छ ।


अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका र चालू आर्थिक वर्षमा दर्ता भएका गरी स्थानीय तहसँग सम्बन्धित तीन सय २९  उजुरी अख्तियार बुटवल कार्यालयमा दर्ता भएका हुन् ।


अख्तियारको बुटवल कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिने प्रगति विवरणमा उक्त तथ्यांक देखिएको हो ।


अख्तियार बुटवल कार्यालयमा दर्ता भएकामध्ये ७५ वटा फस्र्र्योट भएका छन् । स्थानीय तहपछि शिक्षासँग सम्बन्धित एक सय ५२ उजुरी दर्ता भएका छन् ।


त्यसैगरी भूमिसम्बन्धी ६९, वन ३८, भौतिक पूर्वाधार १९, कृषि २८, स्वास्थ्य १७, ऊर्जा र सिँचाइ ४०, खानेपानी तथा सहरी विकास ६ र अन्य ८१ उजुरी दर्ता भएको अख्तियारको कार्यालय बुटवलले जनाएको छ ।


स्थानीय तहमा सबैभन्दा बढी लेनदेन मुद्दा मिलान कार्यक्रम अनुदान दिलाउन सहयोग गर्नेमा बढी पाइएका छन् । कुल सात सय ५४ उजुरीमध्ये सात सय १३ वटा फस्र्योट भएको अख्तियार बुटवल कार्यालयको चौमासिक प्रगति विवरणमा उल्लेख छ ।


जिल्लागत रुपमा अख्तियार बुटवल कार्यालयमा सबैभन्दा बढी रुपन्देहीबाट उजुरी दर्ता भएका छन् । चालू र गत आर्थिक वर्षबाट सरी आएकासहित यो वर्ष दुई सय ४० उजुरी रुपन्देहीबाट दर्ता भएको अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।


कपिलवस्तुबाट एक सय ४१ र नवलपरासी पश्चिमका ९४ उजुरी दर्ता भएका छन् । दाङ र बर्दियाबाट यो वर्ष हालसम्म कुनै उजुरी दर्ता नभएको अख्तियारले जनाएको छ ।


धमाधम पक्राउ पर्दै सरकारी हाकिम


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरु गरेको स्टिङ अपरेसनमा माथिल्लो तहका कर्मचारी पक्राउ हुने क्रम बढेको छ ।


घुस लेनदेनमा विगतमा तल्ला तहका कर्मचारी धेरै पक्राउ पर्ने गरेकामा पछिल्लो समय उपसचिव स्तरका कार्यालय प्रमुखहरू पनि समातिने क्रम बढेको हो ।


अख्तियारको बुटवल कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा लुम्बिनी प्रदेशबाट मात्र तीन जना राजपत्रांकित द्वितीय श्रेणीका कर्मचारी पक्राउ परेका छन् ।


अख्तियारले गत २० साउनमा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई पक्राउ गरेको थियो । व्यवसायीसँग दुई लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा राना पक्राउ परेका थिए ।


त्यस्तै, बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार भट्टराईलाई १९ साउनमा अख्तियारले पक्राउ गरेको थियो । स्रोत नखुलेको रकमसहित भट्टराईसँग निकुन्जका सहायक संरक्षण अधिकृत विष्णु रोकाया पनि पक्राउ परेका थिए ।


पूर्वाधार विकास कार्यालय बाँकेका मनीषकुमार अर्याल पनि स्रोत नखुलेको रकमसहित गत १४ भदौमा अख्तियारको फन्दामा परेका थिए । कार्यालय प्रमुखहरू समातिने क्रम अघिल्लो वर्षभन्दा यो वर्ष बढेको छ ।


२०७७/०७८ को आर्थिक वर्षभरमा लुम्बिनीमा तीन उपसचिव स्तरका कर्मचारी पक्राउ परेका थिए । यस वर्ष भने पहिलो चार महिनामै तीन उपसचिव तहका कर्मचारी पक्राउ परेका हुन् ।


अघिल्लो आर्थिक वर्षमा १३ जना अधिकृत स्तरका कर्मचारी पक्राउ परेका थिए । चालू आर्थिक वर्षमा अहिलेसम्म अधिकृत स्तरका कर्मचारी एक जना मात्र पक्राउ परेका छन् ।  


स्टिङ अपरेसनमा चालू आर्थिक वर्षमा पक्राउ परेका अरु पद र दर्जामध्ये एक वडाध्यक्ष, एक नायब सुब्बा, तीन श्रेणीविहीन कर्मचारी र बाँकी चार जना कर्मचारीबाहेक रहेको अख्तियार  बुटवलका सुचना अधिकारी सुरेश भुसालले बताए ।