close

स्वास्थ्य चौकीमा बिजुली नहुँदा उपचारमा समस्या

स्वास्थ्य चौकीमा बिजुली नहुँदा उपचारमा समस्या

Trulli
ADVERTISEMENT

रुकुमपूर्व- रुकुमपूर्वको भूमे गाउँपालिका- ३ मोराबाङ स्वास्थ्य चौकी सीमामा विद्युत नहँुदा स्थानीयलाई उपचारमा समस्या भएको छ ।


गत वर्षको माघदेखि तुनबाङ लघु जलविद्युत् आयोजना सीमाको नहरबाट पावर हाउसमा पुर्‍याइएको मुख्य पाइप फुटेपछि मोराबाङ स्वास्थ्य चौकी सीमाले बिजुलीविनै सर्वसाधारणको उपचार गर्दै आएको छ ।

 

गत माघमा ३२ किलोवाट क्षमताको तुनबाङ खोला लघु जलविद्युत् आयोजनाको नहरदेखि पावर हाउसमा पुर्‍याइएको पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।


विद्युत सेवा अवरुद्ध हुँदा स्वास्थ्य चौकीमा मात्र नभई गाउँमै विद्युत् समस्या रहेको वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिलमान रोकाले बताए ।


‘गत वर्ष पाइप खरिद गर्न बजेट भएन । यस आर्थिक वर्षमा वडाले पाइप खरिदका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दोस्रो चौमासिकमै पाइप खरिद गरी विद्युत् सुचारु गर्नेछौँ’, वडा अध्यक्ष रोकाले भने ।


बिजुली बल्ने मुख्य पानीको पाइप फुटेपछि हाल बत्ती बाल्न रातमा मात्र पानी छाडेर कामचलाउ विद्युत् सेवा प्रवाह भइरहेको छ ।


स्वास्थ्य चौकीमा २४सै घन्टा विद्युत् सेवा हुनुपर्नेमा रातका लागि मात्र छाडिएको कामचलाउ बत्तीले स्वास्थ्योपचारमा समस्या भइरहेको मोराबाङ स्वास्थ्य चौकी सीमाका इन्चार्ज विवेक केसीले जानकारी दिए ।


‘हाल डे«सिङ र प्रसूति सेवाका औजारलाई पुनः निर्मलीकरण गर्न कर्मचारीले नै व्यक्तिगत सिलिन्डर ग्यास प्रयोग गरेका छौँ’, केसीले भने ।


स्वास्थ्य चौकीमा बत्ती बाल्न समस्या रहे पनि सीमास्थित तुनबाङ लघु जलविद्युत् आयोजना मर्मत गरेर क्षमता नबढाएसम्म दिगो विद्युत् सेवा पाउन नसकिने उनको भनाइ छ ।


स्वास्थ्य चौकीमा दिगो भरपर्दाे विद्युत सेवाका लागि छिमेकी वडा भूमे- ६ स्थित नजिकै रहेको विद्युत् लाइन स्वास्थ्य चौकीमा ल्याउन पहल भइरहेको इन्चार्ज केसीले जानकारी दिए ।  


रातको समयमा टर्च प्रयोग गरेर र सुत्केरी आमा एवं अन्य बिरामीलाई तातोका लागि आगो बालेरै सेवा दिइँदै आएको स्वास्थ्य चौकीले बताएको छ ।