close

बलेफीका प्रत्येक वडामा एउटा कालोपत्र सडक अनिवार्य

बलेफीका प्रत्येक वडामा एउटा कालोपत्र सडक अनिवार्य

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले पालिकाभित्रका प्रत्येक वडाका एउटा सडकलाई स्तरोन्नति गर्ने अभियान अगाडि बढाएको छ ।  

 

अभियानअन्तर्गत गाउँपालिकाले आठै वडाका कम्तीमा पनि एउटा सडकलाई स्तरोन्नति सुरु गरेको छ । वडा कार्यालयले छनोट गरेको एउटा सडकलाई प्राथमिकतामा राखेर गत वर्षदेखि स्तरोन्नति सुरु गरेको हो ।

 

वडाभित्रका सबै कच्ची सडकलाई एकै पटक सुधार गर्न गाउँपालिकासँग पर्याप्त बजेट पनि नपुग्ने र सबै सडक सुधार पनि नहुने अवस्था छ । गाउँपालिकाले कम्तीमा पनि एउटा सडकलाई सुधार गरेर १२ महिनै सवारी साधन सञ्चालन गर्न सक्ने गरी निर्माण सुरु गरेको छ ।


गाउँपालिकाले वडा कार्यालयसँगको समपूरक बजेटमार्फत यो वर्ष सात वटा सडक स्तरोन्नति गर्न लागेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

 

‘गाउँपालिकाले कालोपत्रे, ढलान, नालीलगायतका काम गरेर सडक स्तरोन्नति गर्न लागेको हो’, अध्यक्ष क्षेत्रीले भने, ‘हाम्रो कार्यकालमा आठै वडाका कम्तीमा पनि एउटा सडक स्तरोन्नति गर्ने योजनाका साथ काम सुरु गरेका छौं ।’


अन्य सडक सुधार र स्तरोन्नतिका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्न लागिएको उनले जानकारी दिए ।


बलेफीको वडा–१ मा एक करोडको लागतमा जलवीरे–वनकाली पुग्ने सडक स्तरोन्नति सुरु भएको छ । वडा कार्यालयको ५० लाख र त्यसमा गाउँपालिकाले ५० लाख थपेर सडक स्तरोन्नति गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताए ।


वडा–२ मा भने यो पटक वडा कार्यालयको भवन निर्माण गर्न सुरु गरिएकाले अर्काे वर्ष मात्रै एउटा मुख्य सडक स्तरोन्नति गर्न लागिएको गाउँपालिकाले बताएको छ ।

 

यस्तै, वडा–३ मा फुल्पिङकोट–चियानडाँडा–बगाम सडक सुधारका लागि टेन्डर प्रक्रिया सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।


गाउँपालिकाले उपभोक्ता समितिमार्फत नभई इबिडिङमार्फत ठेक्का प्रक्रियाबाट सडक सुधार गर्न लागेको छ ।


वडा कार्यालयको सडक सुधारअन्तर्गत ४ नम्बर वडाको टुनीबोटे–मेलडाँडासम्म पुग्ने सडक यो वर्ष नै स्तरोन्नति हुनेछ । त्यस्तै, वडा–५ को अरनिको राजमार्गको ७४ किलोबाट भदौरे–गुर्दमसम्मको सडक स्तोरन्नति गरिने गाउँपालिकाका सबओभरसियर नानीराम पराजुलीले जानकारी दिए ।


वडा–७ को खाडीचौर–चिम्लिङ सडक अहिले धमाधम कालोपत्रे भइरहेको छ । मुख्य सडकबाहेक बलेफीभित्रको कच्ची सडक पनि कालोपत्रे भएको यो गाउँपालिकाको दोस्रो सडक हो ।


यसअघि प्रदेश सरकारको सहयोगमा कोठे बिन्जेल सडकको एक किलोमिटर खण्ड कालोपत्रे गरिएको थियो । खाडीचौर– चिम्लिङ सडकमा गत वर्ष र यो वर्ष गरी साढे दुई किलोमिटर कालोपत्रे हुन लागेको वडाध्यक्ष कार्केल लामाले जानकारी दिए । उक्त सडकमा तीन दशमलव ७५ मिटर चौडाइको कालोपत्रे भइरहेको हो ।

 

गाउँपालिकाले एउटा मुख्य सडकलाई कालोपत्रे, ढलान, नाला, स्ट्रक्चरलगायत काम गरेर सुधार गर्न गत वर्षदेखि नै नीति तथा कार्यक्रममा नै उल्लेख गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

 

‘एकै पटक धेरै काम सुरु गर्दा कुनै पनि काम पूरा नहुने र लाभग्राहीले त्यसबाट फाइदा पाउन नसक्ने भएपछि यस्तो अभियान सुरु गरेका हौं,’ गाउँपालिका अध्यक्ष क्षेत्रीले भने ।

 

सडकलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको र एउटा वडामा एउटा सडकलाई स्तरोन्नति गर्न लागिएको उपाध्यक्ष कमला श्रेष्ठ कायस्थले जानकारी दिइन् ।