close

एउटै खानेपानी आयोजना दुई पटक शिलान्यास ! कहिले आउँछ पानी ?

एउटै खानेपानी आयोजना दुई पटक शिलान्यास ! कहिले आउँछ पानी ?

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको बुटवलमा २५ वर्षअघि सुरु भएको खानेपानी आयोजना अझै पूरा हुन सकेको छैन । लामो समय आयोजना सम्पन्न नहुँदा बुटवलवासी खानेपानीको अभाव झेल्न बाध्य छन् ।


आर्थिक वर्ष २०५२/०५३ सालमा पाल्पाको सिस्ने खोलाको पानी बुटवल ल्याउन झुम्सा खानेपानी आयोजना सुरु भएको हो । झुम्सा आयोजनाबाट पानी ल्याउन नेताहरूले दर्जनौँ पटक जनतासामु प्रतिबद्धता पनि जनाए तर तिनको प्रतिबद्धता भाषणमै सीमित भएको बुटवलबासीको गुनासो छ ।


एउटै आयोजना दुई पटक शिलान्यास


अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको झुम्सा पुगेरै बुटवलमा पानी पु¥याउने उही पुरानो आयोजनाको बाँध स्थलको शिलान्यास गरे । आयोजना समयमै सम्पन्न गर्न बजेट अभाव हुन नदिइने अर्थमन्त्रीले प्रतिबद्धता जनाए ।


‘एकचोटि निर्माण सुरु भएर पनि रोकिएको खानेपानी आयोजना सम्पन्न गर्न अब कुनै समस्या हुँदैन । स्रोत व्यवस्थापन भइसकेको छ’, उनले भने ।


बुटवलमा बढ्दो पानीको मागलाई दृष्टिगत गरी झुम्सा खानेपानी आयोजना संचालन गरिएको अर्थमन्त्री पौडेलले बताए । बुटवलको विकाससँगै तिनाउको पनि विकास हुने दाबी उनले गरे ।


झुम्सा खानेपानी बुटवलकै सबैभन्दा पुरानो र अलपत्र परेको आयोजनामध्येको हो । बाँध निर्माणका लागि फेरि शिलान्यास गरिएको यो आयोजना पनि समयमै सम्पन्न हुनेमा नगरवासी आशंका व्यक्त गर्छन् ।


यो आयोजनालाई झुम्सा खोलाको पानीमा बाँध बाँधेर पाइपमार्फत प्रशोधन केन्द्र हुँदै बुटवलमा पानी ल्याउने योजना छ ।


आयोजना सम्पन्न गर्न करिब छ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । अहिले झुम्सा खोलामा बाँध निर्माणका लागि गत जेठमा ठेक्का सम्झौता भइसकेको छ ।


आयोजनाको बाँध निर्माण र मुख्य ट्रान्समिसन पाइप लाइन विस्तारको काम १ वैशाख २०७९ मा सम्पन्न हुने ठेक्का सम्झौता भएको नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले बताए ।


बुटवलको आगामी १५ वर्षपछिको जनसंख्यालाई धान्ने गरी झुम्सा खोलाको पानी ल्याउने तयारी छ । ‘करिब तीन लाख जनसंख्यालाई धान्ने गरी पाँच करोड ९० लाख लिटर पानी उत्पादन गरिने खानोपानी आयोजनाको लक्ष्य छ’, उनले भने ।


बुटवलमा दैनिक तीन करोड ४० लाख लिटर पानी आवश्यक भएकामा दुई करोड ८० लाख लिटर मात्र आपूर्ति हुँदै आएको छ ।


वर्षायाममा बुटवलवासी तिनाउको धमिलो पानी पिउन बाध्य छन् । बुटवलको बढ्दो जनघनत्व र सुक्दै गएका भूमिगत जलस्रोतका कारण बुटवलमा भविष्यमा खानेपानी आपूर्ति विकराल बन्ने स्थिति छ ।