close

तिलोत्तमामा १५ शैयाको सरकारी अस्पताल

तिलोत्तमामा १५ शैयाको सरकारी अस्पताल

Trulli
ADVERTISEMENT

रुपन्देही–रुपन्देहीको  तिलोत्तमा नगरपालिका वडा–६ गोरकट्टामा निर्माण गरिन लागेको १५ शैयाको सरकारी अस्पतालको शुक्रबार शिलन्यास भएको छ ।


हरेक पालिकामा कम्तीमा एउटा १५ शैयाको सरकारी अस्पताल निर्माण गर्ने संघीय सरकारको नीतिअनुसार आनन्दवन अस्पतालको अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेका हुन् ।

 

२०४० मा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी  अस्पताल बनाउन लागिएको हो ।

 

अस्पताल सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ । १४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाका लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृतप्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए ।


२०४० मा दस कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उनका छोराहरूले थप चार कठ्ठा निःशुल्क दिएपछि अस्पताल स्तरोन्नति सहज भएको हो ।

 

हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नतिसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउनेछ ।
 

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माणमा बजेट अभाव हुन नदिइने प्रतिबद्धता जनाए । ‘बजेटको सुनिश्चितता म गराउँछु । तपाईंहरूले गुणस्तरीय निर्माणमा ध्यान दिनुस्’, अर्थमन्त्री पौडेलले भने ।

 

मन्त्री पौडेलले तिलोत्तमाकै सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नति गराउन सक्दो पहल गर्ने बताए ।

 

तिलोत्तमाको वडा–१ र ८ को दुई सय बिघा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकै ‘गेम चेन्जर’ प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पुल, सिँचाइ नहरलगायत थुप्रै विकासे योजना अघि बढाइने जानकारी दिए ।

 

कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले रुपन्देहीले विकासमा फड्को मारेको बताए । तीनै तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उनको दाबी छ ।

 

तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले  अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

 

उनले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाइ नहर, सडक निर्माणमासमेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गरे । उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताइन् ।


जग्गादातामध्येका जीवनप्रसाद ओझाले अस्पताल निर्माणले राष्ट्रिय स्तरमा चर्चा पाएको तिलोत्तमाको प्रतिष्ठालाई अझै उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

 

वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष सुखदेव न्यौपानेले अस्पताल निर्माणपछि गाउँटोलमै स्वास्थ्य उपचार पाउन नगरबासीलाई सहज हुने बताए ।