close

माइनस १५ डिग्रीको जाडो छल्न उपल्लो मुस्ताङमा गुइँठाको सहारा

माइनस १५ डिग्रीको जाडो छल्न उपल्लो मुस्ताङमा गुइँठाको सहारा

Trulli
ADVERTISEMENT

मुस्ताङ- समुन्द्री सतह देखि ४ हजार मिटर अग्लो उचाईमा रहेको उपल्लो मुस्ताङस्थित सीमावर्ती क्षेत्रका बासिन्दाले हिउँदको जाडो थेग्न पशु चौपाँया लगायतको गुईँठाको साहारा लिनुपर्ने बाध्यता छ ।


लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयले हिउदयाममा जाडो छल्न गुईँठालाई इन्धनको रुपमा प्रयोग गर्न थालेका छन् ।


मुख्यतया पशुपालन व्यवसायमा आश्रित अधिकांश उपल्लो मुस्ताङका स्थानीयले बर्सेनी हिउँदे मौसममा घर तथा खर्कमा पालन गरिएका पशु चौपायाँको आलो गोबर (गुईँठा)लाई घाममा सुकाएर इन्धनको रुपमा प्रयोग गर्छन् ।

 
उपल्लो मुस्ताङको उत्तरीक्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाका सबै वडामा बनजंगल नभएको र खाना पकाउने एल्पी ग्यासको चर्को मुल्य र ढुवानी समस्याले स्थानीय गुईँठा बालेर दिन काट्ने गरेका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डमा सुख्खा पठार र नाङ्गो डाडाँ भएकाले दाउराको बिकल्पमा खाना पकाउन र चिसोबाट सुरक्षित रहन स्थानीय गुर्इँठालाई इन्धनको रुपमा प्रयोग गर्ने गरेको लोमान्थाङ-३ ठिङ्गरका स्थानीय टसी नर्बु गुरुङले जानकारी दिए ।


उनले याकचौरी र घोडा खच्चडको गोबर (गुईँठा)लाई एक सातासम्म घाममा सुकाएर खाना पकाउने र आगो ताप्नका लागि उपयोग गर्ने गरेको बताए ।


उपल्लो मुस्ताङमा विद्युतको पहँुच नपुगेको र इलेक्ट्रिक हिटर र ग्यास ढुवानी चर्को पर्ने भएकाले एलपी ग्यासको उपयोग गर्न बञ्चित छन् । लोमान्थाङ-४ किम्लिङका स्थानीय छिरिङ ढिन्डु गुरुङले कृषिका लागि मलको रुपमा प्रयोग गरिने पशु चौपायाँको गुइँठाले इन्धनको काम गरेको बताए ।


उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतबाट आयात गरिएको चाइनिज चुल्होमा गुईँठा सल्काएर खाना पकाउने पशु चौपायाका लागि कुडो र जाडोबाट बच्न आगो ताप्नका लागि बरदान सावित भएको उनको भनाइ छ ।

 

चाइनिज फलामे चुल्होमा धुवाँको निकासका लागि फलामे पाईप जडान गरी घरको छतमाथि निकास गरिन्छ । एउटा चुल्होको १५ देखि २० हजार रुपैयाँसम्म पर्ने लोमान्थाङ—५ का स्थानीय आङ्गेल गुरुङले जानकारी दिए ।


उनका अनुसार सुकाएर राखिएका गुईँठा चुल्होमा राखेर बालेपछि निर्वाद रुपमा सल्किन्छ । बर्सेनि एक बाली मात्र हुने उपल्लो मुस्ताङमा स्थानीयले हिउँदमा गुईँठा बालेरै जाडो छल्छन् ।


उपल्लो मुस्ताङको तापक्रम अहिले माइनस १५ डिग्रीमा झरेकाले अत्यधिक चिसो बढेको छ । गुइँठाको प्रयोगले चिसोबाट हुने रुघाखोकी तथा निमोनिया जस्ता रोग लाग्नबाट सुरक्षित राख्न स्थानीयलाइ सजिलो पनि भएको छ ।


वारागुङ मुक्तिक्षेत्रको समरदेखि तलको ३ स्थानीय तहका स्थानीयले भने जंगलका दाउरा नै उपयोग गर्छन् । मध्य मुस्ताङ र तल्लो मुस्ताङका लेकमा जंगल भएकाले हिउँदमा दाउरा नै प्रयोग गरिएको हो ।