close

फलामसँगै जिन्दगीमा पाइन हाल्दै छन् दियाली

फलामसँगै जिन्दगीमा पाइन हाल्दै छन् दियाली

Trulli
ADVERTISEMENT

इलाम– बिग्रेका घरायसी हाते सामग्री छरपस्ट छन् । छेवैमा फलाम, काठका टुक्रा, छाताका करङ, रड, बिग्रेको रेडियो, बिजुलीका समान र फुटेका भाँडावर्तनको नमिलेको थुप्रो पनि ।


हँसिया, खुकुरी, बञ्चरो, खुर्पा, दाउ, कुटो, कोदालोलगायत बनाउन चाहिने औजार छरिएका छन् । आवश्यक परेमा सजिलै प्रयोग गर्न सकिन्छ ।

 

देउमाई नगरपालिका– ९ सडकै किनारमा रहेको भारती भञ्ज्याङका ५० वर्षीय पदमप्रसाद दियालीको आरन कटेरोको दृश्य हो यो ।


आरनको छेउमा हिउँद या बर्खा जुनसुकै सिजनमा भेटिन्छन् उनी । बिहान उठेदेखि साँझसम्म फलामका औजारसँग खेल्दै जीवनका पाँच दशक बिताएका छन् उनले । जीवनको जोड घटाउमा भरपुर साथ दिएको छ यही आरनले । फलामलाई आकार दिएजस्तै, जीवनलाई पनि सार्थक बनाएका छन् यही पेसाबाट । उनले जोड्दै छन्– घरको खुसी, पूरा गर्दै छन् वर्षौंको सपना ।

 

धान फल्ने एउटा कान्लो खेत छैन । वर्षमा २५ मुरी धान थन्क्याउँछन् । महिनामा ३० हजारदेखि ४० हजार रुपैयाँ नगद कमाउँछन् । बचत गरेर जीवन बीमा गरेका छन् । घर व्यवहार चलेको छ कामले । नौ जनाको परिवारलाई सन्तुष्टि दिएको छ । ओत लाग्ने घर बनाएका छन् । खनी खोस्री खाने थोरै भए पनि जमिन जोडेका छन् ।


कक्षा ९ सम्म पढेका पदमले जीवनलाई जोड्दै जाने क्रमका अनगिन्ती हन्डर र ठक्कर खाएका छन् । रहरले पुख्र्यौली पेसा धानेका होइनन् उनले, बाध्यताले डोहो¥याएको हो ।


‘अहिलेसम्म गरेको पसिनाको फल सम्झिँदा खुसीका आँसु पनि झर्छन्’, उनी भन्छन्, ‘मैले जे काम गरेँ, सही गरेँ । सुख पनि जीवन, दुःख पनि जीवन । तर, मलाई चिन्ता छ, यदि म तलमाथि भएँ भने यो काम कसले गर्छ ?’

 

करिब दुई हजार ५०० घर धुरीका घरायसी हाते सामग्री बन्छन् उनको आरनमा । सधैँ भ्याई नभ्याई काममा हुन्छन् । समय गएको पत्तै हुँदैन उनलाई ।

 

कामका लागि आउने ग्राहकसँग गफिन्छन् । अनुभव र भोगाइका कुरा गर्छन् । कामले चित्त बुझाएर बिदा दिन्छन् । उनी जस्ता फलामको काम गर्ने गाउँमा छैनन्, भए पनि सीप छैन । काम गरे पनि पाइनविनाको हतियार बनाएको उनीकहाँ आउने ग्राहकहरू भन्छन् ।


पदमको काम देखेर जुनकुनै पेसालाई सानो ठान्नेहरू जिब्रो टोक्छन् । उनको पसिना, कमाइ र सफलता इष्र्यालाग्दो छ । हेर्दा सामान्य देखिने परिश्रमी, फर्साइला तथा सबै उमेरसँग मिलनसार उनको लोभलाग्दो गुणले अरूलाई लोभ्याएको बताउँछन् उनीकहाँ कामका लागि आउने मनकुमार लिम्बू ।


बसाइँ सर्दासर्दै बित्यो पदमको बाल्यकाल


‘२२ वर्षपछि मात्र परम्परागत पेसालाई चिनेँ। पेसा भन्दा पनि वस्तुभाउ, घाँस–दाउरामै दिन बिते । साथीभाइ, गुलेली बोक्ने दौँतरी बनाउन भ्याइएन । कामै भूलेर बिताएँ’, पदमले भने, ‘दैनिक छाक टार्ने समस्याले देउमाई नगरपालिकाकै चार ठाउँमा बसाइँ सरेँ ।’


चमैताको सिम्सारमा जन्मेका पदम तीन वर्षको हुँदा बुबाआमाले सिदिथुम्का बसाइँ ल्याए । बाल्यकाल यहँ बित्यो । आठ जना छोराछोरीसहित १० जनाको परिवार छ उनको । पदमले भने, ‘दुःख गरेर पढाए बाले । अझै पढ्ने रहर विवाहले पूर्ण बिराम लगायो ।’


बालबच्चा भए । दाजुभाइमा भागबण्डा लाग्यो । जीवन चलाउन खोजी खानुपर्‍यो । बुबाले सिद्धिथुम्कामा जोडेको सम्पत्ति र घरजग्गाले पुगेन । बुबाआमासँगै दाजुभाइलाई सिद्धिथुम्कामै छाडेर जीतपुरमा बसाइँ सरे ।


‘अर्काकै जग्गामा भए पनि २०६२ सालदेखि फेरि अर्कै ठाउँमा कमाएर खानुपर्‍यो’, उनले भने, ‘अर्काकी श्रीमतीसँग माया लाउनु र अर्काको जग्गामा गरिखानु एउटै हो । अर्काकी श्रीमतीको बुढो आयो भने टोपी छाडेर भाग्नुपर्छ । त्यस्तै हो अर्काको जग्गा कमाउँदाको पीडा ।’


अर्काको जग्गा न हो, फेरि छाड्नुपर्‍यो । अरूको घरजग्गा छाडे पनि आरन चलाउने सामग्रीको पोको छाडेनन् । चौथो पटकमा बसाइँ सरेपछि उनले गरेको कामलाई व्यवसाय उन्मुख हुन सिकायो ।


कालीगढ पाइँदैन व्यवसायी बन्न


घरेलु हातहतियार बनाउने उद्योगी बन्ने रहर छ पदमको । घर परिवार र आफ्नालागि त कमाए र कमाउँदै छन् तर साथीभाइले पनि कमाउनुपर्छ भन्ने सोच छ उनमा । ‘मन हुनेलाई म काम सिकाउन तयार छु तर गाउँमा सिक्न चाहने युवाको अभाव छ’, अनुभव सुनाए उनले ।

    
पदमलाई सीप भएको कालीगढ पाए व्यवसायी बन्ने रहर छ । उद्योग संचालन गरेर रोजगारीको बाटो देखाइदिने मन छ । तर, आरनको उद्योग संचालन गर्ने मन भएको कुरा सुनाउने साथीभाइसम्म पनि भेटेका छैनन् उनले ।


निर्वाचनमा भोट माग्दै पुगेका जनप्रतिनिधि सम्झिँदै चुनावको बेला दिएको मीठा सपना निर्वाचित भएसँगै हराएको गुनासो गरे । उनले भने, ‘हामी जस्ताको कुरा कसले सुनिदिन्छ ? अहिले त घरमा आउनै छाडे । बाटो तर्केर नचिनेझैँ गरेर हिँड्छन् ।’


अलिक बढी वा धेरै काम गर्दा काम सघाउने कामदार पाइँदैन । पेसालाई आधुनिकीकरण गरेर लैजान सकेमा स्वरोजगारको माध्यम बन्ने उनको भनाइ छ ।

 

परम्परागत पेसालाई सरकारले चासो देखाए सबै खालका समुदायका युवाले यो पेसा अँगाल्ने थिए भन्ने लाग्छ पदमलाई । ‘बरु म सीप सिकाइदिन्छु । व्यवसायी बन्न चाहनेलाई सरकारी अनुदान, बैंक ऋणको व्यवस्थापन सहज र सरल हुन सके धेरै विदेशिने युवाले स्वदेशमै कमाइ गर्न सक्थे’, उनले भने, ‘गाउँकाले आफ्ना सामग्री सहज रूपमा बनाई जीवनयापन गर्नसमेत सजिलो हुन्थ्यो । दुःख पाउँदैन थिए ।’


‘म मरेँ भने कसले यो काम गरिदिन्छ ?’, दुखी हुँदै पदम भन्छन्, ‘सरकारले यो पेसाको सीप सिकाएर व्यवसाय संचालन गर्न अनुदान सहयोग गरेमा युवाको रोजगारको माध्यम बन्छ ।  व्यवसायलाई प्रवद्र्धन गरिदिनुपर्छ । म सहयोग गर्न तयार छु ।’


सरकारले नदेखेको आरनको व्यावसायिक सम्भावना


परम्परागत पेसाको रूपमा चिनिएको आरनको व्यावसायिक सम्भावना सरकारले अहिले पनि देख्न सकेको छैन । आरनलाई आधुनिकीकरण गरेर बस्तीबस्तीमा व्यवसाय संचालन गर्न सके घरायसी सामग्री बनाउन सहज हुने पदमले सुनाए ।


आरनलाई युवा व्यवसायीसम्म पुर्‍याउन सके बेरोजगारको समस्या समाधानको सहयोगी हुन भए पनि सरकारले चासो नदिँदा परम्परागत पेसा व्यवासय पलायन हुन थालेको उनको अनुभव छ ।

 

परम्परागत पेसालाई आधुनिकीकरण गर्दै सरकारले विकास र प्रावद्र्धन गर्न सकेमा स्थानीय स्रोत, साधनको सुदुपयोगसँगै सरकारको आर्थिक स्रोत जुटाउने माध्यम बन्ने नागरिक अगुवाहरूको बुझाइ छ ।


‘आरनलाई व्यावसायिक पेसा बनाउन सरकारले सहयोग गरे घरायसी हातहतियार बनाउनलाई गाउँलेले दिन मात्र होइन, सिजनमा हप्ता दिन समय खर्च गर्नुपर्दैनथ्यो’, उनी भन्छन्, ‘म कति जनाको काम गर्नु ? अरू पनि काम गर्ने भए मलाई कामको बोझ घट्ने थियो ।’


सुरुमा १० रुपैयाँमा हँसिया अर्जाप्न थलोका उनले अहिले १०० रुपैयाँमा अर्जाप्छन् । खुकुरी, कोदालो, दाउ, फरुवा १५० रुपैयाँमा अर्जाप्ने गरेको उनी सुनाउँछन् । अहिले आरनलाई आधुनिकीकरण गरेर आकर्षक व्यवसाय बनाउन सरकारको ध्यान नपुगेको पदमको भनाइ छ ।