close

मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान

मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिका भौगोलिक रूपमा सानो भए तापनि साँस्कृतिक रूपमा सम्पन्न छ । यहाँका सम्पदा मात्र होइन, यहाँका निजी आवाससमेत साँस्कृतिक रूपमा सम्पन्न छन् ।


नगरका निजी भवन साँस्कृतिक रूपमा सम्पन्न हुनुको श्रेय घरधनीलाई मात्र होइन, नगरपालिकालाई समेत जाने गर्छ । यहाँको स्थानीय सरकारले मौलिक शैलीमा घर बनाउन स्वीकृति मात्र होइन, अनुदानसमेत दिँदै आएको छ ।


नगरभित्र मौलिक शैलीमा घर बनाउने स्थानीयलाई ३५ अनुदान नगरपालिकाले  दिने गरेको छ । २०७३ सालमा स्थानीय सरकार आएसँगै नगरले उक्त नीति लिएको हो ।

नगरपालिकाका अनुसार हालसम्म १६ जना स्थानीयले उक्त अनुदान प्राप्त गरिसकेका छन् । हालसम्म १५ जना स्थानीय अनुदानको प्रक्रियामा छन् । नगरपालिकाका नक्सा शाखाका इन्जिनियर विजय जतीका अनुसार मौलिक शैलीमा घर बनाउनेलाई नगरपालिकाले घरको मोहडामा लाग्ने इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिनेछ ।


अनुदानका लागि घर निर्माण सम्पन्न भइसकेपछि घरधनीले नगरपालिकामा निवेदन पेस गर्नुपर्नेछ । उनले भने, ‘निवेदनको आधारमा नगरपालिकाले घरको मूल्यांकन गर्नेछ । सोहीको आधारमा अनुदान रकम दिइनेछ ।’


अनुदान रकम विश्व सम्पदा सूचीकृत क्षेत्र तथा नगरका पुराना शहरका स्थानीयले मात्र पाउनेछन् । भक्तपुरको साँस्कृतिक सम्पदा, काष्ठकला, पर्यटन विकास गर्ने उद्देश्यले उक्त अनुदान वितरण गरेको हो ।


नगरले दिने उक्त अनुदानबाट मौलिक शैलीमा घर बनाउन र आफ्नो संकृतिलाई बचाउन थप प्रोत्साहन मिलेको स्थानीय बताउँछन् । स्थानीय बासिन्दा सीताराम सुवालले नगरपालिकाले गरेको सहयोगले भक्तपुर नगरभित्रका सम्पदाको मात्र नभई निजी भवनामा समेत संस्कृति जीवित पाएको बताए ।