close

मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान

मौलिक शैलीमा घर बनाउनेलाई भक्तपुर नगरको ३५ प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिका भौगोलिक रूपमा सानो भए तापनि साँस्कृतिक रूपमा सम्पन्न छ । यहाँका सम्पदा मात्र होइन, यहाँका निजी आवाससमेत साँस्कृतिक रूपमा सम्पन्न छन् ।


नगरका निजी भवन साँस्कृतिक रूपमा सम्पन्न हुनुको श्रेय घरधनीलाई मात्र होइन, नगरपालिकालाई समेत जाने गर्छ । यहाँको स्थानीय सरकारले मौलिक शैलीमा घर बनाउन स्वीकृति मात्र होइन, अनुदानसमेत दिँदै आएको छ ।


नगरभित्र मौलिक शैलीमा घर बनाउने स्थानीयलाई ३५ अनुदान नगरपालिकाले अनुदान दिने गरेको छ । २०७३ सालमा स्थानीय सरकार आएसँगै नगरले उक्त नीति लिएको हो ।

 

नगरपालिकाका अनुसार हालसम्म १६ जना स्थानीयले उक्त अनुदान प्राप्त गरिसकेका छन् । हालसम्म १५ जना स्थानीय अनुदानको प्रक्रियामा छन् । नगरपालिकाका नक्सा शाखाका इन्जिनियर विजय जतीका अनुसार मौलिक शैलीमा घर बनाउनेलाई नगरपालिकाले घरको मोहडामा लाग्ने इँटा, झिँगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदान दिनेछ ।


अनुदानका लागि घर निर्माण सम्पन्न भइसकेपछि घरधनीले नगरपालिकामा निवेदन पेस गर्नुपर्नेछ । उनले भने, ‘निवेदनको आधारमा नगरपालिकाले घरको मूल्यांकन गर्नेछ । सोहीको आधारमा अनुदान रकम दिइनेछ ।’


अनुदान रकम विश्व सम्पदा सूचीकृत क्षेत्र तथा नगरका पुराना शहरका स्थानीयले मात्र पाउनेछन् । भक्तपुरको साँस्कृतिक सम्पदा, काष्ठकला, पर्यटन विकास गर्ने उद्देश्यले उक्त अनुदान वितरण गरेको हो ।


नगरले दिने उक्त अनुदानबाट मौलिक शैलीमा घर बनाउन र आफ्नो संकृतिलाई बचाउन थप प्रोत्साहन मिलेको स्थानीय बताउँछन् । स्थानीय बासिन्दा सीताराम सुवालले नगरपालिकाले गरेको सहयोगले भक्तपुर नगरभित्रका सम्पदाको मात्र नभई निजी भवनामा समेत संस्कृति जीवित पाएको बताए ।