close

फुङ्लिङमा अब साताको दुई दिन मात्र स्वाब संकलन गरिने

फुङ्लिङमा अब साताको दुई दिन मात्र स्वाब संकलन गरिने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- अब ताप्लेजुङको फुङ्लिङमा मंगलबार र शनिबार गरी साताको दुई दिन स्वाब संकलन गरिने भएको छ । निश्चित दिनलाई आधार मानेर स्वाब संकलन गर्दा कन्ट्याक्ट ट्रेसिङसहितको कार्य पूरा हुने र स्वाब संकलन कार्य पनि व्यवस्थित हुने भएकाले साताको दुई दिन मात्र स्वाब संकलन गर्ने तयारी गरिएको हो ।


कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवं प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले सातामा अनिवार्य दुई दिन स्वाब संकलन गनुपर्ने अवस्थाबाहेक सातामा एक दिन मात्र स्वाब संकलन गरिने जानकारी दिए । ‘शंकास्पद अवस्थामा वा स्वाब संकलन गर्नै पर्ने अवस्थामा साताका मंगलबार र शनिबार स्वाब संकलन गरिन्छ’, प्रजिअ चापागाईंले भने ।


ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सोनिङ लामाले दिनै तोकेर सातामा दुई दिन स्वाब संकलन गर्ने हो भने संकलन तथा व्यवस्थापन सहज हुने बताए । कन्ट्याक्ट ट्रेसिङसहितका सबै कार्य पूरा गरी स्वाब लिनै पर्ने अनिवार्य अवस्थाका लागि मात्र स्वाब संकलन गरिने भएको छ । डा. लामाका अनुसार संक्रमितको नजिकको सम्पर्कमा रहेकाहरू र कोरोना मिल्दोजुल्दो लक्षण देखिएकाहरूले अब अनिवार्य कम्तीमा १० दिन होम आइसोलेसनमा बस्नुपर्नेछ ।


सो अवधिमा शरीरमा कुनै समस्या देखापरेमा वा कोरोनासँग हुबहु लक्षण मिल्दोजुल्दो देखिएमा मात्र त्यस्ता व्यक्तिको स्वाब परीक्षणका लागि संकलन गरिने भएको छ । यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइन्छ ।


अब उप्रान्त कन्ट्याक्ट ट्रेसिङको सम्पूर्ण कार्य स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्नुपर्ने भएको छ । संक्रमण व्यवस्थापनका लागि जनसम्पर्क र परामर्श सेवाको प्रमुख दायित्वसमेत स्वास्थ्य कार्यालयले लिनुपर्ने गरी मौखिम सहमति बनेको प्रजिअ चापागाईंले बताए ।