close

अस्लेवाका १९४ घरमा ‘एक घर, एक धारा’

अस्लेवाका १९४ घरमा ‘एक घर, एक धारा’

Trulli
ADVERTISEMENT

गुल्मी- सत्यवती गाउँपालिका- १ अस्लेवाकी ६३ वर्षीया जुनमाया अधिकारीले सपौदे खोलाबाट पानी बोक्दा अहिले घरमै पानीको धारा आउला भन्ने सपना जस्तो लाग्थ्यो ।


अहिले अधिकारीले चाहेको बेला घरकै डिलमा पानी थाप्छिन् । सोही गाउँकी ७७ वर्षीया दुर्गादेवी पाण्डे पनि घरमै पानी आएपछि खुसी छन् ।


घरमै पर्याप्त पानी आएपछि स्थानीयको दैनिकीसमेत फेरिएको छ । अस्लेवा चौरकी २५ वर्षीया जानकी पाण्डेयले खानेपानी पर्याप्त भएपछि सरसफाई, तरकारी, घरको काम र गोठमासमेत सहज तरिकाले काम गर्न भ्याएकी छन् ।

 

अस्लेवाका वडा नं.- ५, ६ र ७ खानेपानी तथा सरसफाइ आयोजनामार्फत यहाँका नागरिकको ‘एक घर, एक धारा’को चाहना पूरा भएको हो ।


खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीले एक करोड ९६ लाख ४२ हजार ७९८ रुपैयाँको लागतमा आयोजना सम्पन्न गरेको जनाएको छ ।


दुई वर्षमा निर्माण सम्पन्न भएको यस आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर, एक धारा’ पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकाश न्यौपाने बताए ।


यो आयोजना सत्यवती गाउँपालिका- १ को सबैभन्दा ठूलो खानेपानी आयोजना हो । आयोजनाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए । आयोजनाको उद्घाटन गर्दै ज्ञवालीले अब नागरिक धेरै वर्ष काकाकुल भएर बस्नु नपर्ने बताए ।


अस्लेवामै अरू धेरै खानेपानी आयोजनाहरू पनि संचालनमा छन् । स्थानीय तहको निर्वाचनअघि भद्रगोल रहेको खानेपानी समस्याको व्यवस्थापनमा सत्यवती गाउँपालिकाका जनप्रतिनिधि कस्सिएपछि घरघरमा पानी पुगेको हो ।


२०७४ सालमा भएको निर्वाचनमा तीनै तहका उम्मेदवारको प्रमुख चुनावी नारा ‘एक घर, एक धारा’ थियो । यस अभियानसँग हरेक नागरिकको भावना जोडिएकाले आफूहरूले धेरै काम गरिरहेको सत्यवती गाउँपालिका- १ का वडा अध्यक्ष भीमलाल पाण्डेयले बताए ।