close

संसद् विकास कोषको चार करोड रूपन्देहीका तीन पालिकालाई

संसद् विकास कोषको चार करोड रूपन्देहीका तीन पालिकालाई

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देही क्षेत्र नम्बर- २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले यस वर्ष संसद् विकास कोषको बजेट जिल्लाका तीन पालिकाको स्वास्थ्य क्षेत्रमा खर्चिने बताएका छन् ।


कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक देखिएपछि पौडेलले संसद् विकास कोषको चार करोड रुपैयाँ स्वास्थ्य क्षेत्रमा लगाएको अर्थमन्त्रीका स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए ।


विनियोजित बजेटअनुसार तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा- २ लाई एक करोड, पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम र सैनामैनाको वडा- १ लाई पनि एक करोड रुपैयाँ छुट्याइएको छ ।

 

त्यस्तै, बुटवल उपमहानगरमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा संचालन, बुटवल उपमहानगर वडा- ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम, बुटवल उपमहानगर वडा- १२ मा एक करोड ५० लाख रुपैयाँ खर्च गरिनेछ ।


स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालन कार्यविधि, २०७७ अन्तर्गतको बजेट हो यो ।


‘बजेट खर्चिनका लागि उक्त समितिमा संघीय समानुपातिक सांसद, राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, क्षेत्रभित्र पर्ने पालिकाका प्रमुख र अध्यक्ष सदस्य रहनेछन्’, अर्थमन्त्रीका स्वकीय सचिव पाण्डेले भने ।


गत वर्ष शिक्षामा रकम खर्चिएका पौडेलले अहिले स्वास्थ्य क्षेत्रमा संसद् विकास कोषको रकम खर्च गर्ने भएका हुन् ।


बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले अर्थमन्त्रीको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट यस क्षेत्रमा चालू नभएका स्वास्थ्य कार्यक्रम संचालन हुने बताए ।