close

शैक्षिक सत्रको अन्त्यतिर विद्यालय खुले पनि वार्षिक परीक्षा चैतमै

शैक्षिक सत्रको अन्त्यतिर विद्यालय खुले पनि वार्षिक परीक्षा चैतमै

Trulli
ADVERTISEMENT

जुम्ला- साविकको कर्णाली (कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगु)मा नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भएर मंसिरमा सम्पन्न हुने गर्छ ।


पुस र माघ यहाँ अत्यधिक जाडो हुने हुनाले विद्यालय बन्द हुन्थे । तर, चालू शैक्षिक सत्रमा विद्यालय संचालनमा आएको महिना दिनपछि कोरोना संक्रमणका कारण बन्द भए ।


संघीय सरकारले गत ११ चैतदेखि कोरोना संक्रमणका कारण विद्यालय बन्द गर्ने घोषणा गरे पनि यहाँको स्थानीय प्रशासनले एक दिन अगावै १० चैतमै विद्यालय बन्द गरेको थियो ।


शिक्षा मन्त्रालयले अनलाइन कक्षा संचालन गर्ने भने पनि यहाँका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् ।


कर्णालीको नयाँ शैक्षिकको चैतमा वार्षिक परीक्षा लिने गरी तिला गाउँपालिकाले २३ कात्तिकदेखि सामुदायिक विद्यालय संचालनमा ल्याएको छ । पातारासी गाउँपालिकाले पनि २३ कात्तिकदेखि विद्यालय खुलाएकोे छ ।


तिला गाउँपालिकाको २९ असोजमा बसेको शिक्षा समिति बैठकले विद्यालय संचालनमा ल्याउने निर्णय गरेको हो ।


यहाँका चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र सिंजा गाउँपालिकाले पनि मंसिर पहिलो साताबाट विद्यालय संचालनमा ल्याएका छन् ।


सरकारले ‘विद्यालय संचालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै विद्यालय खुलाउने र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिएपछि यहाँका विद्यालय खुल्न थालेका हुन् ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको कार्यविधिमा स्थानीय तहले विद्यालयहरूलाई विभिन्न मोडालिटीमा संचालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्ने अधिकार दिएको छ ।


गुठीचौर तातोपानी गाउँपालिकाले भने विद्यालय संचालनमा ल्याएका छैनन् । गुठीचौरका शिक्षा शाखा संयोजक प्रेमराज खनालका अनुसार पालिकाभित्रका विद्यालय संचालन गर्ने÷नगर्ने विषयमा व्यवस्थापन समितिको निर्णय ल्याउन भनिए पनि अहिलेसम्म आएको छैन ।


‘यहाँको १ र २ नम्बर वडामा निकै जाडो हुने हुँदा अहिले नै विद्यालय संचालनमा आउन नसकेका हुन्’, उनले भने, ‘पालिकाभर १२ सामुदायिक विद्यालयमा दुई हजार पाँच विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।’


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले नै विद्यालय संचालनमा ल्याउने अवस्था छैन । ‘कोरोना संक्रमण बढिरहेकाले अहिले विचाराधीन अवस्थामा छौँ । संक्रमण न्यून भए माघदेखि विद्यालय खुलाउन सकिने अवस्था छ’, अध्यक्ष न्यौपानेले भने ।


पठनपाठन संचालन गर्दा आधारभूत तहले नियमित रूपमा कक्षा संचालन गर्ने निर्णय भएकोे जिल्लास्थित सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए ।


उनका अनुसार माध्यमिक तहले विद्यार्थी संख्याका आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरी पठनपाठन संचालन भएको छ ।

 
कक्षा संचालन गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्नेसमेत निर्णय भएको शिक्षा समितिले जनाएको छ ।


शिक्षा समन्वय इकाई जुम्ला प्रमुख मक्कर भण्डारीका अनुसार कोरोना संक्रमणका कारण चालू शैक्षिक सत्रमा विद्यालय मंसिरदेखि खुलेका छन् ।


शैक्षिक सत्रको अन्त्यतिर विद्यालय खुले पनि वार्षिक परीक्षा गर्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिलाई सुझाएको उनले बताए । हिमाली जिल्लामा जाडोका कारण शैक्षिक सत्र फागुन-मंसिर भए पनि शिक्षा ऐन, नियमावलीमा शैक्षिक सत्र वैशाख-चैत भन्ने छ ।


‘यहाँ मंसिरको पहिलो साता विद्यालय खुलेका छन् । दुई महिना पढाएर वार्षिक परीक्षा लिने भन्ने हुँदैन । अब चैतमै वार्षिक परीक्षा लिनुपर्छ’, उनले भने ।  


प्रमुख जिल्ला भूपेन्द्र थापाका अनुसार स्थानीय तहले विद्यालय संचालनमा ल्याउने विषय प्रशासनलाई औपचारिक जानकारीमा छैन ।


‘कोरोना संक्रमणका बेला स्थानीय प्रशासनले जीउ, ज्यानको सुरक्षाको कुरा गर्दै आए पनि स्थानीय तहका जनप्रतिनिधिले विद्यार्थीको भविष्य बिग्रने बताउँछन्’, प्रजिअ थापा भन्छन्, ‘कोरोना महामारीको बेला भविष्य भन्दा पहिलो कुरा जीउ, ज्यानकै सुरक्षा हो । तर, स्थानीय तहले सुनुवाइ गरेका छैनन् ।’