close

अर्थुङ्गेमा सडक कालोपत्रे गर्दै बेनी

अर्थुङ्गेमा सडक कालोपत्रे गर्दै बेनी

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले वडा- ६ स्थित अर्थुङ्गेमा सडक स्तरोन्नति सुरु गरेको छ । बेनी-पाखापानीको आँपरूखदेखि अर्थुङ्गेको पुलाचौर चोक जोड्ने सडकमा नाली बनाउन, ढलान गर्न र कालोपत्रे गर्न लागेको हो ।


कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएको आयोजना तिहारलगत्तै सुचारु भएको छ ।


गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदुर र निर्माण सामग्रीको अभावका कारण प्रभावित भएको थियो ।


करिब २५ प्रतिशत भौतिक प्रगति भएको आयोजनालाई आगामी चैतसम्म म्याद थपेर चालू आर्थिक वर्षमा निरन्तरता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।  


एक करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सम्झौताअनुसार २०० मिटर ढलान, ७०० मिटर कालोपत्रे र ७०० मिटर नाली बनाइनेछ ।


देउरालीमा ढलान सम्पन्न भइसकेको छ भने नेपाली सेनाको ब्यारेक रहेको स्थान वरपर पनि सडक ढलानको तयारी सुरु भएको इञ्जिनियर विमलरञ्जन कार्कीले बताए ।  


बेनी नगरपालिका- ४ रघुगंगाका दुई वडाका बासिन्दाले सदरमुकाम बेनी आउजाउमा प्रयोग गर्ने यो सडक स्तरोन्नति गर्न बेनीले क्रमागत आयोजना संचालन गरेको छ ।


आयोजनाको नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रशासकीय अधिकृत सुवेदी, भौतिक पूर्वाधार समिति संयोजक कृष्णकुमार विश्वकर्मा, प्रवक्ता रामकृष्ण बराइलीलगायतको टोलीले अनुगमन गरेका थिए ।

 
अनुगमन टोलीले निर्माण व्यवसायी मनोज कार्कीलाई थपिएको समयभित्र काम सम्पन्न गर्न र गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । आयोजना स्थलमा भेटिएको कमसल बालुवा प्रयोग नगर्न निर्देशन दिइएको थियो ।


यसअघि गत असारमा रिबाउन्ड ह्याम्बर उपकरण प्रयोग गरेर नालीको ढलान परीक्षण गर्दा गुणस्तरअनुसारको नपाएपछि भत्काउन निर्देशन दिएको थियो । तर, निर्माण व्यवसायीले निर्देशन पालना गर्न अटेरी गरेका छन् ।


यसैगरी अर्थुङ्गेमै निर्माण सुरु भएको वडा कार्यालय भवनलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधि शिशिर शाहीलाई निर्देशन दिइएको छ ।