close

कृषकलाई माहुरी घार बाँड्दै सैनामैना

कृषकलाई माहुरी घार बाँड्दै सैनामैना

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गरेको छ ।


नगरलाई मह उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले कृषकलाई मौरीका घार उपलब्ध गराएको हो ।


नगरको कृषि विकास शाखाअन्तर्गत सैनामैनाका  किसानले ५० प्रतिशत अनुदानमा माहुरीकोे घार पाएका हुन् ।


घार वितरण कार्यक्रममा मौरीपालन कृषक समूहका केन्द्रीय अध्यक्ष अर्जुन पोखरेलले नेपालमा महको माग बढिरहेको तर उत्पादन भने कम रहेको बताए ।


‘अहिले देशमा ६५ प्रतिशत महको माग छ तर ३५ प्रतिशत मात्र उत्पादन हुने गरेको छ’, पोखरेलले भने ।


नगरमा माहुरीपालनको सम्भावना राम्रो रहेकाले कृषकलाई प्रोत्साहन स्वरूप घार वितरण गरिएको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।


नगरपालिकाको कृषि शाखा प्रमुख सिर्जना खनालका अनुसार कृषकको मागअनुसार शाखाले १०० घार र मौरीका आधार चाका प्रदान गरेको हो । माहुरीलाई मह उत्पादन गर्न चिउरीको बोट आवश्यक पर्छ ।


‘नगरले लगाएका चिउरीका बोटलाई संरक्षण गरेर  मौरीपालक कृषकले यसबाट फाइदा लिन सक्नुपर्छ’, प्रमुख खनालले भनिन् ।

 

चार वर्षदेखि माहुरीपालन गर्दै आएका वडा- १ का योगराज कँडेलले १० वटा घारसँगै १५ वटा आधार चाका प्राप्त गरेका छन् ।


सैनामैनामा माहुरीका लागि चरन क्षेत्र अभाव हुँदा यहाँका कृषकले माहुरीलाई दाङ, प्युठानलगायतका जिल्लामा चराउन लैजाने गर्छन् । हाल नगरमा १७ माहुरीपालक कृषक छन् ।