close

ताप्लेजुङका दुई पालिकाको सेवा बन्द

ताप्लेजुङका दुई पालिकाको सेवा बन्द

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- कोरोना जोखिम बढ्दै गएपछि ताप्लेजुङका दुई पालिकाले एकैसाथ सेवा प्रवाह बन्द गरेका छन् ।


गाउँ कार्यपालिकामा कार्यरत एक कर्मचारी र अर्का एक स्थानीयमा कोरोना संक्रमण देखिएपछि सिरिजङ्घा गाउँपालिकाले पालिकाबाट प्रवाह गरिने अत्यावश्यकबाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पालिकाको सेवा बन्द भए पनि वडाबाट भने सेवा यथावत रहनेछ ।


यस्तै, गाउँ कार्यपालिकामा कार्यरत एकाघरका दुई कर्मचारीसहित नौ जनामा कोरोना संक्रमण देखिएपछि पाथीभरा याङ्बरक गाउँपालिकाले पालिकाको केन्द्र थेचम्बुस्थित पूर्णडाँडा बजार सात दिनलाई सिल गरेको छ ।


गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वोले मंगलबारदेखि सात दिनका लागि पालिकाको केन्द्र पूर्णडाँडा बजार सिल गरिएको जानकारी दिए ।


‘बजारभित्रकै मानिसले पनि अत्यावश्यक कामबाहेक हिँडडुल गर्न नपाउने गरी लकडाउनकै मोडलमा बन्द गरेका छौँ’, उनले भने ।


पूर्णेडाँडामा रहेको वडा- २ कार्यालयको सेवा पनि सात दिनका लागि बन्द गरिएको वडा अध्यक्ष ज्ञानु दाहालले जानकारी दिए ।

 

स्थानीय एक जनामा कोरोना  संक्रमण देखिएपछि पाथीभरा याङ्बरकले यसअघि नै सात दिनका लागि सेवा प्रवाह बन्द गरेको थियो ।


फुङ्लिङ नगरपालिकाले भने नगर उपप्रमुख बमबहादुर भट्टराईसहितलाई कोरोना संक्रमण पुष्टि भए पनि अहिलेसम्म केही निर्णय लिएको छैन ।


नगरपालिकाले मंगलबार बैठक बोलाए पनि कोरोना संक्रमणबारे कुनै निर्णय नभएको फुङ्लिङ नगरपालिका वडा- ५ का वडा अध्यक्ष भीमादेवी ओझाले बताइन् ।