close

बूढीगंगा जलविद्युत् आयोजना: २५ वर्ष बित्यो, निर्माणको टुंगो लागेन

बूढीगंगा जलविद्युत् आयोजना: २५ वर्ष बित्यो, निर्माणको टुंगो लागेन

Trulli
ADVERTISEMENT

अछाम- २५ वर्षअघि निर्माण सुरु गर्न अध्ययन थालिएको अछामको बूढीगंगा जलविद्युत् आयोजनाको काम अझै सुरु हुन सकेको छैन ।

 

 


आयोजना निर्माणका लागि अध्ययन सुरु भएको २५ वर्षपछि गत साउनमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको थियो ।

 

 


लामो समयदेखि निर्माण गर्ने भनिए पनि अहिलेसम्म आयोजना सुरु नभएपछि बूढीगंगा जलविद्युत् आयोजना सरोकार मंचले  तत्काल काम सुरु गर्न दबाबमूलक कार्यक्रम सुरु गर्न लागेको मंचका प्रवक्ता प्रकाश शाहले जानकारी दिए ।


मंचको बैठकले आयोजनाको कामलाई अगाडि बढाउन जिल्लास्थित सरोकारवाला निकाय, पालिका प्रमुखलगायतको भेला गर्ने निर्णय भएको अध्यक्ष शाह बताउँछन् ।


गत आर्थिक वर्षको अन्त्यमा डीपीआर स्वीकृत भएपछि आयोजना निर्माणका लागि बाटो खुलेको थियो । सरकार आफैँले निर्माण गर्ने २० मेगावाट क्षमताको बूढीगंगा जलविद्युत् आयोजना निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भए पनि डीपीआर बनाउन ढिलाइ भएको थियो ।


जलविद्युत् आयोजनाको डीपीआर ढिलो गरी तयार भए पनि आयोजना स्थल पुग्ने ७६७ मिटर सडक र पुल निर्माण सम्पन्न भएको बूढीगंगा जलविद्युत् आयोजनाका प्रवक्ता इन्जिनियर पुनम पाण्डेयले बताइन् ।


‘अस्ट्रेलियाली कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बनाएको डीपीआर सरकारले स्वीकृत गरेसँगै आयोजना निर्माण अगाडि बढाउने तयारी भइरहेको छ’, इन्जिनियर पाण्डेयले भनिन् ।


उनका अनुसार कार्यालय भवन निर्माण यसअघि नै सकिएको थियो । बूढीगंगा जलविद्युत् आयोजनामा साउदी विकास कोषले तीन अर्ब २० करोड र कुवेत विकास कोषले एक अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना छ ।


आयोजना निर्माण सन् २०८० भित्रै सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत् सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा खपत हुने र बाँकी कैलालीको पहलमानपुर पुर्‍याएर केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।