close

भवन बन्यो पोहोरै, योजना पर्‍यो अहिले !

भवन बन्यो पोहोरै, योजना पर्‍यो अहिले !

Trulli
ADVERTISEMENT

म्याग्दी- २०७२ वैशाखको विनाशकारी भूकम्पले अन्नपूर्ण- ७ औलास्थित हिस्तान स्वास्थ्य चौकीको भवन जीर्ण बनायो । स्थानीयवासीले त्यही वर्ष जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवन पुनर्निर्माणको योजना मागे ।

 

२०७३ सालमा शहरी विकास तथा भवन निर्माण डिभिजनले हिस्तान स्वास्थ्य चौकीको भवन बनाउन ठेक्का आह्वान गर्‍यो । २०७६ मंसिरमा ठेकेदारले नयाँ भवन बनाएर हस्तान्तरण गरेको एक वर्ष पुगिसक्यो ।


तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलले एक वर्षअघि नै निर्माण भइसकेको हिस्तान स्वास्थ्य चौकीको भवन बनाउने यसपालि योजना छनोट गरेर गाउँपालिकालाई जग्गा व्यवस्थापनका लागि पत्र पठाएको छ ।  


गत वर्ष शहरी आवास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले ठेक्कामार्फत एक करोड ३१ लाख रुपैयाँको लागतमा औलामा स्वास्थ्य चौकी भवन निर्माण गरिसकेको थियो ।


सरकारी निकायबीच समन्वयको अभावमा एउटै प्रयोजनका लागि भवन बनाउन दुईवटा योजना परेका हुन् । ‘२०७२ सालमै योजना मागेको हो तर भवन डिभिजनले बनाएपछि बल्ल अहिले प्राधिकरणको योजना पर्‍यो’, औलाका कुमबहादुर पुर्जाले भने, ‘सेवा विस्तार र स्तरोन्नति गर्न आवश्यक पर्ने भएकाले नयाँ भवन बनाउने तयारी छ ।’


औलाका बासिन्दाले स्वास्थ्य चौकीको नयाँ भवन बनाउन १० रोपनी जग्गा उपलब्ध गराउने सहमति दिएका छन् । यस स्वास्थ्य चौकीबाट रिमा, औला, दोसल्ले र छिमेकी वडा धारापानीका बासिन्दाले सेवा लिने गरेका छन् ।


औलाको स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने टिकोट र घराम्दीका बासिन्दाले टिकोटमा समुदाय स्तरबाट स्रोत जुटाएर संचालन गरेको स्वास्थ्य इकाईमा पूर्वाधारको अभाव छ । एक जना स्वास्थ्यकर्मी टिकोटमै बसेर सेवा दिने गरेका वडा अध्यक्ष गमप्रसाद फगामीले बताए ।  


औलामा स्वास्थ्य चौकीको भवन बनिसकेकाले टिकोटमा स्वास्थ्य पूर्वाधार बनाउन छलफल गरेर स्थानीयले १७ रोपनी जग्गा व्यवस्थापन गरेका थिए । तर, ठाउँ नै तोकेर आएको योजना अन्यत्र लैजाँदा विवाद हुने देखिएपछि औलामै अर्को भवन बनाउनुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए ।  


टिकोटमा गाउँपालिकाले नै लगानी गरेर स्वास्थ्य इकाईको भवन बनाउने अध्यक्ष पुनले प्रतिबद्धता जनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाई (भवन) बाग्लुङले स्वास्थ्य मन्त्रालयको सिफारिसअनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नतिको सूचीमा परेकाले स्वास्थ्य चौकीको पूर्वाधार विस्तार गर्न लागिएको जनाएको छ ।


स्वास्थ्य संस्थाको पूर्वाधार बन्ने जग्गाको प्राविधिक मूल्यांकन गर्ने समितिको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बन्न लागेको नयाँ भवनको सदुपयोग, उपयोगिता र सेवा सुनिश्चितताको विषयमा चासो देखाएका छन् ।


‘भवन बनेर १५-२० वर्षसम्म प्रयोगमा आउँछ कि आउँदैन ? भवनबाट केके सेवा प्रवाह हुन्छ ?’, भवन निर्माणका लागि प्रस्तावित जग्गाको अनुगमनमा औला पुगेका प्रजिअ अधिकारीले स्थानीयवासीसँगको छलफलमा भने, ‘उपयोगीता र प्रयोगका विषयमा थप छलफल गरेर निर्णय लिनुपर्ने देखिन्छ ।’